म्याग्दी । प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा साउनको पहिलो सोमबार साउन ७ गतेबाट ‘सन्ध्याकालीन आरती’ शुभारम्भ गरिने भएको छ ।
तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी आगामी साउन ७ गते सोमबारबाट सुरु गर्ने गरी ‘सन्ध्याकालीन आरती’ को तयारी अन्तिम चरणमा पुगेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
‘हरेक सोमबार आरतीमा श्रवण गर्न पाइन्छ, यस क्षेत्र धार्मिक दृष्टिकोणले पनि पवित्र छ’ अध्यक्ष खड्काले भने । उनका अनुसार प्रत्येक सोमबार साँझ करिब दुई घण्टा आरती सहितको धार्मिक कार्यहरु हुने छन् ।
भगवान शिवकोको पुजा आरधना गदैं १ सय ८ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गरिने छ । आरतीका लागि ३ जना कन्या सहित ६ जनालाई तालिम समेत दिइएको छ ।
तातोपानी कुण्डमा आउने बिरामी, स्थानीयबासी तथा आरतीका सहभागि तथा अवलोकनका लागि समेत सहज हुने गरी तयारी गरिएको समितिका सचिव कुमार केसीले बताउनुभयो ।
‘आरतीले भक्तजनहरूमा आध्यात्मिक शान्ति र आनन्द महसुस हुनेछ, आरतीले तातोपानीको गौरव थप्ने छ’ सचिव केसीले भन्नुभयो । तातोपानीमा स्नान गर्न आउने बिरामीको मनोकामना पूरा गर्ने, मनोबल बढाउन समेत सघाउने सचिव केसीको भनाई छ । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो । बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि बर्षेनी २० हजारको हाराहारीमा आउने गरेका छन् ।
पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा पर्ने तातोपानीको ‘सन्ध्याकालीन आरती’ले आन्तरिक पर्यटक बढ्ने तातोपानी कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ ।