आगनमा धारा छ, पानी छैन

म्याग्दी । मानव जीवनको लागि पानी अपरिहार्य विषय हो । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन विताउन सहयोग पु¥याउँछ । तर, म्याग्दीको सदरमुकाम नजिकै रहेको एक गाउँमा स्थानीयको घरमा धारा जडान गरेको दुई बर्ष वितिसक्दा पनि धारामा पानी झरेको छैन ।

म्याग्दीको बेनी नगरपालिका–६, छाप बानियाँ र खत्री टोल बासीहरु आँगनमै धारा जडान गरेपछि लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्ने आशामा बसेका छन् । बषौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयबासीले घरकै छेउमै धारा बनेपछि पानीका लागि दुःखका दिन अन्त्य भएको महसुस गर्न पाएका छैनन् ।

खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट तीनबर्ष अगाडी सुरू भएको काउँले खानेपानी आयोजना प्रयाप्त बजेटको अभावका कारण तीनबर्षसम्म पूर्णता पाएको छैन । आयोजना निर्माणमा भएको ढिलाइ र हरेक बर्ष न्यून बजेट विनियोजनले धाराको प्रयोग नगरी जिर्ण बन्दै गएको छ ।

काउँले खानेपानी उपभोक्ता समितिले खोरगैरामा ४४ घरधुरीलाई खानेपानी वितरण गरेको छ । खाना पकाउनका लागि पनि प्रयाप्त पानी छैन, क्रमागत बजेटको नाममा कनिका छर्केजस्तै बजेट दिएर स्थानीयलाई सास्ती दिने काम भइरहेको छ ।

२० हजार घनमिटरको १ वटा र ५ हजार घनमिटरको २ वटा ट्याङ्की सहित धारा निर्माण गरिएपनि पाइप लाइन धारामा जडान र गाड्ने काम बाँकी छ । कार्यालय प्रमु्ख इन्जिनियर झलकमोहन ओझाले क्रमागत बजेटका कारण खानेपानी आयोजनाले पूर्णता पाउन नसकेको बताउनुहुन्छ ।

गत आवमा ८ लाख र चालु आवमा उक्त खानेपानीका लागि १० लाख विनियोजन भएको छ । हालसम्म २५ लाख खर्च भएको आयोजनामा मुलबाट ट्याङ्कीसम्मको दूरी १५ सय मिटर छ । अहिलेसम्म १६ घरधुरीमा धारा समेत बनेको छैन । बेनपा–६,पुलाचौरको न्यारी खर्क लगायत ४ वटा मुललाई रिजर्भ ट्याङ्कीमा संकलन गरी वितरण गर्ने लक्ष्य रहेपनि मुहानमा विवाद, पहिरो र पानी सुक्दै जाँदा समस्या भएको छ ।

 

You can share this post!

साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न

म्याग्दीमा ट्राफिक सचेतनाका लागि सप्ताहव्यापी कार्यक्रम

Related posts