रघुगंगा– २ मा गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीलाई कार्वाही

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्ने व्यवसायीलाई कार्वाही गर्न थालिएको छ ।
गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको थियो ।

अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्न थालिएको छ । बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायतका सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्रीवितरण गर्न पुगेको बेनी नगरपालिका–८ कालिपुलमा रहेको बिक्की एण्ड बदर्शलाई १० हजार जरिवाना गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका एक सय बोत्तल मदिरासमेत जफत गरिएको छ ।

बजारबाट सामान ल्याएर बिक्री गर्ने तथा वडा भित्र नै संचालनमा रहेका व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा बिक्रीवितरण गर्न रोक लगाइएको तर अनुगमन गर्दा लुकिछिपी विक्रीवितरण गरेको पाईएकोले कार्वाही गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि १० हजार, दोस्रोपटकका लागि २५ हजार, तेस्रोपटकका लागि ५० हजार र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छौँ, अध्यक्ष भण्डारीले भन्नुभयो, “नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्रीवितरण गरे कारबाही गर्न थालेका छौँ” ।

भगवतीमा गत पुस २५ देखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि बनाईएको मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो । उक्त व्यवस्थाको कार्यान्वयनका लागि वडाध्यक्षको नेतृत्वमा भगवती प्रहरी चौकीका प्रतिनिधि, वडा सचिव, वडा सदस्य, होटल व्यवसायीका प्रतिनिधि र समाजसेवी सम्मिलित टोलीले अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।

बजारबाट भित्रने न्यून गुणस्तरका मदिराका कारण महिलासमेत कुलतमा फसेको, पारिवारिक विखण्डन सिर्जना गरेको, जनधनको क्षति, विभिन्न जटिल स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध नै लगाउनुपरेको वडा कार्यालयले जनाएको छ ।
यस वडामा १८ वर्ष नपुगेका बालबालिकालाई मदिरा र सुर्ती–चुरोट बिक्रीवितरण गर्न नपाइने नियमलाई समेत कडाइ गरिएको छ ।

You can share this post!

सुनको भाउमा दिनदिनै रेकर्ड, आज १ लाख २५ हजार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अनेमसंघको बेनीमा अन्तरक्रिया

Related posts