एमाले म्याग्दीको दशौँ जिल्ला अधिवेशन सुरुः सत्ता गठबन्धन विदेशीसामु लम्पसार परेको एमाले महासचिव पोख्रेलको भनाई

म्याग्दी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताउनुभएको छ । नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महासचिव पोख्रेलले वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिई सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको आरोप लगाउनुभएको छ ।

‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितकर छैन, अहिलेको सरकारकै कारण देश संकटमा परेको छ’ महासचिव पोख्रेलले भन्नुभयो । उहाँले वर्तमान सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के गुमाउनुपर्नेको भन्ने चिन्ता हुने गरेको बताउनुभयो ।

नेकपा एमालेको नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामाना गदैं स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गदैं गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर झुकाउने काम गरेको बताउनुभयो ।

महासचिव पोख्रेलले नाकाबन्दीको सामना,चीनसँग व्यापार, पारवहन सम्झौता गदै भारतसँग बषौंदेखि नसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रित भएको आरोप समेत लगाउनुभएको थियो ।

 

‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो, एमाले सत्ता बाहिर भएपनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा,राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ’ महासचिव पोख्रेलले भन्नुभयो ।

उहाँले मुलुक बनाउने एजेण्डा बोकेको पार्टी सत्ता बाहिर हुदाँ अहिले जनताले दुख पाएको बताउनुभयो । महासचिप पोख्रेलले वर्तमान सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएको आरोप समेत लगाउनुभयो ।

देशैभरीका स्थानीय तहमा निर्माणधिन अवस्थामा रहेका अस्पतालको शिलन्यास सहित बजेट विनियोजन गर्दा अहिलेको सरकारले बजेट घटाएर अलपत्र पारेको बताउनुभयो । उहाँले नेपालमा एमालेको सरकारको पालामा भएका काम र अहिले गठबन्धनको सरकारको कामबाटै जनता प्रष्ट भएको बताउनुभयो ।

जिल्ला अधिवेशनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल लगायत केन्द्रिय नेता, गण्डकी प्रदेशका नेताको उपस्थिती रहेको थियो । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् ।

अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट आएका प्रतिनिधिसहित बेनीबजार परिक्रममा समेत गरिएको थियो । अधिवेशनको अध्यक्षता एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, स्वागत उपाध्यक्ष बालकृष्ण सुबेदी र सञ्चालन सचिव सुरत केसीले गर्नुभएको थियो । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन सकिएपछि शनिबार बन्द सत्रमार्फत नयाँ नेतृत्व चयन हुने छ ।

You can share this post!

बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरू

खुकुरी प्रहारमा संलग्न चार जना प्रहरी नियन्त्रणमा

Related posts