ओझेलमा विमको सुन्दर वराहताल

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७, बिमबाङ रहेको बराह ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीको प्रवेशद्धार र प्रभुचेला ध्यान आश्रमको नजिक रहेको बराह ताल प्रचुर पर्यटकीय सम्भावना भएपनि प्रचारप्रसारको अभाव र ताल संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिदाँ प्राकृतिको अनुपम उपहारले पर्यटकलाई तान्न सकेको छैन् ।

धौलागिरि हिमाल र नजिकै रहेको मन्दिरको प्रतिबिम्ब देखिने ताल अपार पर्यटकीय सम्भावनाले युक्त भएपनि थप पूर्वाधार सहित पर्यटकलाई तालसम्म ल्याउने योजना नहुदाँ पर्यटकको ध्यान खिच्न नसकेको स्थानीय यूवा एवम् प्रभुचेला ध्यानआश्रम ब्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताउनुभयो ।

‘मालिकाधुरी पुग्ने पर्यटकलाई यहाँ रोक्ने थप पूर्वाधार आवश्यक छ,‘ एकपटक पुग्ने पर्यटकलाई तालको बनोटले समेत लोभ्याउँछ’ गर्बुजाले भन्नुभयो । उहाँका अनुसार तालको माथिल्लो पट्टी बराह थान छ । उक्त थानको नजिकै रहेको पानीको मुलबाट तालमा पानी आउँछ ।

तालमा जम्मा भएको पानी स्थानीयले सिँचाईमा समेत प्रयोग गर्ने गरेका छन् । तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको उहाँले बताउनुभयो । ताल आसपासका क्षेत्रबाट हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण वस्तीहरुहरु देखिन्छ । ताल साढे तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि करिब दुई हजार ३०० मिटरको उचाइमा रहेको छ । तालको चारैतिर ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ ।

तालसम्म आवतजावत गर्न मिल्ने सडक समेत बनाइएपछि मालिकाधुरी र प्रभुचेला आश्रमसम्म आउने पर्यटकहरुको नजरमा ताल पर्ने गरेको त्यहाँ घुम्न गएका पत्रकार अमित विश्वकर्माले बताउनुभयो । उहाँले अहिले ओझेलमा परेको ताल नियमित मालिकाधुरी आउने पर्यटकको चाप बढेमा घुइचो लाग्ने बताउनुभयो ।

यस ठाउँमा वि.सं. १९२५ देखि पूजाआजा गर्ने परम्परा रहेको स्थानीयको भनाई छ । बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको अनुपम स्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेकाले मालिकाधुरी, प्रभुचेला र वराह ताललाई समेटेर पालिकाले पूर्वाधार सहित प्रचारप्रसार गर्ने गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाको भनाई छ ।

You can share this post!

मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रवर्धन कार्यक्रम

बेनीको विरेन्द्रचोकमा नेपालको झण्डा फहराईयो

Related posts