एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्माको उम्मेदवारी

पोखरामा जारी नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनमा प्रदेश अध्यक्ष पदमा म्याग्दीका नवराज शर्माले उम्मेदवारी दिनुभएको छ ।
यसअघि पनि गण्डकी प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका शर्माले पार्टीलाई अझै शसक्त ढंगले अगाडी बढाउने योजनाका साथ अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

शर्माको प्यानलमा उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै अर्को प्यानलबाट अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङलाई अघि सारिएको छ । अधिवेशनबाट १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।

जिल्लाको मालिका गाउँपालिका ७ विममा जन्मनुभएका शर्मा राजनैतिक क्षेत्रमा २०४० को दशकदेखिनै सक्रिय हुनुहुन्छ ।
सरल जीवनशैली र प्रष्ट विचार व्यक्त गर्ने शर्मा २०४२ देखि २०५४ साल सम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य, र कोषाध्यक्ष सम्मको पदिय जिम्मेवारीमा रहनुभएको थियो ।

पञ्चायत विरुद्धको भूमिगत अवस्था र विद्यार्थी राजनीतिबाट निखारिदै आउनुभएका शर्मा २०५४ सालमा जिल्ला विकास समिति म्याग्दीको सभापति हुनुभएको थियो ।

उहाँ २०४५ सालमा नेकपा मालेको जिल्ला संगठन कमिटीको सदस्य बन्नुभएको थियो । शर्माले धवलागिरी अञ्चलका म्याग्दी, मस्ताङ र बागलुङ जिल्लामा पूर्णकालिन कार्यकर्ताका रुपमा लामो समय सक्रियताका साथ जिम्मेवारी सम्हाल्नुभएको थियो ।

राजनीतिमा विभिन्न उतारचढावहरु झेल्दै शर्माले २०७० सालको संविधानसभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो ।
निस्वार्थ, ईमान्दार, विचार र सिद्धान्तमा अडिक, पार्टीको अविचलित योद्धाको रुपमा परिचित नेता शर्माले भोट गरि विजयी गराईदिन सम्पुर्ण प्रतिनिधिहरुलाई अपिल समेत गर्नुभएको छ ।

 

You can share this post!

पहिरोले बरंजाको घाम्ताङमा एकघर पुरियो

नेकपा एमाले गण्डकी प्रदेशको उपसचिवमा म्याग्दीका सन्तोष रावलको उम्मेदवारी

Related posts