म्याग्दी । म्याग्दी जेसिजको आतिथ्यतामा नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलन बेनीमा सुरु भएको छ । सम्मेलनको विहिबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो ।
बेनीको खुल्लामञ्चमा आयोजित सम्मेलनमा क्षेत्र (ख) का करिव ६ जना जेसिज सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रम सुरुहुनु पूर्व साँस्कृतिक विनिमय कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न जातजाति तथा संघ संस्थाहरुको पहिचान सहितको झाँकीले सम्मेलनमा सहभागी हुन विभिन्न जिल्लाहरुबाट आएका जेसिज सदस्यहरुलाई स्वागत गरिएको थियो ।
जेसिजका विभिन्न शाखाहरुको व्यानर सहितको ¥यालीले बजार परिक्रमा गरि खुल्लामञ्चमा प्रवेश गरिएको थियो । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारीहरु सहित जेसिज क्षेत्र ख अन्तर्गतका शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजा, गण्डकी प्रदेश सरकारका भौतिक व्यवस्था तथा यातायात मन्त्री रेशम जुग्जाली सुविन, प्रदेशसभा सदस्य हरि भण्डारी, विमला गौचन, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायतको उपस्थिति रहेको छ ।
सम्मेलन शुक्रबार साँझ समापन हुनेछ । सम्मेलनमा जिल्लाका पहिचान झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुति, सम्मेलनमा सहभागी जेसिज सदस्यहरुलाई स्थानीय उत्पादनका खानाका परिकारहरु, शालिग्राम शिला राखिएको मायाको चिनो, बेनीको बजार गीतको शव्द अंकित जाले रुमाल, स्थानीय उत्पादन अल्लोबाट बनेको झोला प्रदान गर्ने व्यवस्था गरिएको सम्मेलन निर्देशक सुविन श्रेष्ठले जानकारी दिनुभयो ।