मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाय

म्याग्दी । बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका ७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडकको मापदन्ड मिचेर बनाएको पर्खालमा डोजर लगाउनुभएको छ ।

मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काईएको हो । बेनी–अर्थुङे सडकखण्ड अन्तरगत विद्यालयले पैदलमार्ग तथा आपत्कालिन अवस्थामा सवारीसाधन समेत प्रयोग गर्ने मिल्ने संरचनालाई भत्काएर मापदण्ड कायम गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।

‘नगरको डोजर निरन्तर चलिरहेको छ,’सडक अतिक्रमण गरेर बनाइएका संरचना सबै खाली गछौ’ मेयर केसीले भन्नुभयो । महारानीथानमा अतिक्रमित पर्खाल हटाई मुल सडकको चौडाई करिब साढे ८ मिटर कायम भएको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरेर अतिक्रमित संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेका संरचनालाई समेत बल प्रयोग गरी हटाउने जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले अनधिकृत संरचना हटाउनको लागि नगरपालिकाले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गर्ने बताउनुभयो । उहाँले बेनीबजार भित्र सडक अतिक्रमण गरेपछि बाटो साँघुरो भई दुर्घटनाको जोखिम बढेकाले थप अतिक्रमित संरचना भत्काउने बताउनुभयो ।

बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि कालिपुल बसपार्क, अस्पतालचोक लगायतका क्षेत्रमा संरचना भत्काइएको छ ।

नगरपालिकाले सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरेको छैन् । जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाइएको छ ।

अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथा सडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बजारक्षेत्रमा रहेका अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ ।

You can share this post!

भलिबल प्रशिक्षक बानियाँले बेलायतमा ३ क्लबलाई प्रशिक्षण दिए

मोनाको पाँचौ महाधिवेशन आगामी असोज २६ देखि बेनीमा सुरु हुने

Related posts