बेनी नगरको ७० करोड ८९ लाख बजेट पारितः सामाजिक विकासतर्फ कुल बजेटको ५७ प्रतिशत विनियोजन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि ७० करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
आईतवार बेनीमा आयोजना गरिएको १३ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गर्नभएको कुल ७० करोड ८९ लाखको बजेट नगरसभाले पारित गरेको हो ।

चालुतर्फ ५० करोड २७ लाख ७५ हजार र पुँजिगततर्फ २० करोड ६१ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख लामिछानेले बताउनुभयो । नगरपालिकाले आन्तरिक आय, कर तथा गैरकर राजस्व र संचित कोषको नगद मौज्दात, बाँडफाँड भई प्राप्त हुने राजस्व र संघ र प्रदेश सरकारबाट वित्तिय हस्तान्तरण भई प्राप्त हुने अनुदानलाई बजेटको श्रोत बनाएको छ ।

क्षेत्रगत आधारमा आर्थिक विकासतर्फ २ करोड ८८ लाख, सामाजिक विकासतर्फ सवैभन्दा बढि ४० करोड ४९ लाख बजेट विनियोजन भएको छ । यो कुल बजेटको ५७ दशमलव १२ प्रतिशत हो । पूर्वाधार विकासतर्फ ११ करोड २५ लाख बजेट विनियोजन भएको छ । कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ रु १३ करोड ३२ लाख २५ हजार बजेट विनियोजन भएको छ ।

त्यसैगरि नगरसभाले नगर प्रमुख सुरत केसीले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम पनि पारित गरेको छ । नगरपालिकाले कृषि तथा सिचाई, पशुपन्छी विकास, रोजगार प्रवद्र्धन, पर्यटन विकास, शिक्षा, स्वास्थ्य, उद्योग तथा सहकारी, खेलकुद, पूर्वाधार तथा सहरी विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, बन वातावरण, सरसफाई तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रलाई समेटेर वार्षिक नीति तथा कार्यक्रम तयार गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

नगरपालिकाले ‘कृषि उत्पादनमा बृद्धि, नगरको समृद्धि’ भन्ने अवधारणा लिई कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने नीति लिएको छ । नगरपालिकामा एक सामुदायिक नर्सरी स्थापना गर्ने नीति बनाएको छ । श्रमिकहरुको सम्मान र प्रोत्सहनका लागि श्रमको सम्मान नगरको अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख केसीले बताउनुभयो ।

प्रशिक्षित अध्यापकः प्रतिस्पर्धी प्रधानाध्यापक भन्ने सिद्धान्तलाई अनुसरण गर्दै सामुदायिक विद्यालयलाई नतिजामुखि बनाउने नीति लिएको नगरपालिकाले ‘सोच, खोज र गर’ अन्तर्गत पठन, खोज तथा अनुसन्धानात्मक अध्ययन प्रवृत्तिको विकास गर्दै ‘एक विद्यालय एक प्राथमिक उपचार बक्स’ कार्यक्रम संचालन गर्ने भएको छ ।

नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, संस्था दर्ता विधेयक २०८०, बेनी नगरपालिकाको भू–उपयोग वर्गिकरण तथा मापदण्ड, २०८० लगायत पनि छलफल सहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । त्यस्तै नगरभित्रका योजनामा उपभोक्ता समितिको लागत, जनसहभागिता १५ प्रतिशत लागु हुँदै आएकोमा त्यसलाई घटाएर १० प्रतिशत बनाईएको अधिकृत ढकालले बताउनुभयो ।

उपभोक्ता समितिबाट संचालन हुने आयोजनाका लागि ३.५ प्रतिशत कन्टेन्डेन्सी काट्ने गरिएकोमा त्यसलाई पनि घटाएर ३ प्रतिशत बनाईएको छ । ठेक्कामार्फतका योजनाहरुमा भने यो नियम लागु गरिएको छैन । नगरपालिकाको नारा परिवर्तन गरि “शिक्षा, स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ समृद्ध बेनी नगरको मुल आधार” बनाईएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । यसअघि बेनी नगरपालिकाको नारा “कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ समृद्ध बेनी नगरको मुल आधार” थियो ।

You can share this post!

गुर्जालाई सडक संजाल संग जोड्न धवलागिरीले २ करोड बजेट विनियोजन

मालिकामा करिव ४६ करोड बजेट पारित

Related posts