धौलागिरि चक्रीय पदमार्गको विकासमा पहल थालियो

म्याग्दी । म्याग्दीको धैलागिरी गाउँपालिका –४ मा अवस्थित संसारकै सातौँ (८१६७) मिटर अग्लो धौलागिरी हिमाललाई परिक्रमा गर्ने चक्रिय पदमार्गको विकास गर्न गाउँपालिकाले पहल थालेको छ ।

धौलागिरी चक्रिय पदमार्गको विकास गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायतको टोली गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय पुगेको हो ।

पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकीङ व्यवसायी एजेन्सीज एसोशियसन (टान)का पदाधीकारीहरुबीच सोमबार पोखरामा विशेष छलफल भएको छ ।

पर्यटन मन्त्री जुग्जालीले पर्यटकको चाहना र आवश्यकता अनुसार धौलागिरि, ढोरपाटन शिकार आधार, अन्नपूर्ण आधार शिविर लगायत नयाँ गन्तब्यमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा पालिका र संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो । सडकले छोटिएका पुराना पदमार्गको विकल्पमा नयाँ गन्तब्यको खोजी, विकास र प्रर्वद्धन गर्ने नीति प्रदेश सरकारले लिने उहाँको भनाई थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष पुनले पालिकाको सिमित स्रोतले नभ्याउने भएको हुँदा धौलागिरि चक्रीयमा पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ चाहिएको बताउनुभयो । म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुदै धवलागिरी आधार शिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रीय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या न्युन छ ।

टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रीय पदमार्गलाई नयाँ गन्तब्य बनाउन छलफल गरिएको बताउनुभयो ।
आरोहीहरु हेलिकप्टरबाट सिधै आधार शिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन् । पदमार्ग, पुल, आवास, खानेपानी र सञ्चार सुविधा विस्तारका लागि गाउँपालिकाले पहिलो चरणमा डिपिआर तयार पार्न लागेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । वर्षमा करिब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् ।

मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो ।

You can share this post!

मुस्ताङबाट पोखरा जार्दै गरेको बस धम्पुमा दुर्घटना

हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने

Related posts