गठबन्धनका उमेदवारको प्रतिवद्धताः मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउँछौँ

म्याग्दी । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठवन्धनका उम्मेदवार सहितको टोलीले म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदि, मुना, ताकम र धारापानीमा चुनावी सभा सम्पन्न गरेको छ । आईतवार आयोजित सभामा पाँच दलीय गठबन्धनका उम्मेदवारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् ।

उनिहरुले ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटन विकासमा जोड दिने प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठले मध्य पहाडीको बागलुङ भन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताउनुभयो ।

“म योजना आयोगको उपाध्यक्ष हुँदा डिपिआर स्विकृत र बजेटको स्रोत सुनिश्चितता गरेर ठेक्का प्रक्रीया अघि बढाएको बेनी–दरवाङ सडक कालोपत्र गर्ने काम अझै पुरा नहुनु दुखद छ,” उहाँले भन्नुभयो “बेनी–दरवाङ– धवलागिरी गाउँपालिका जोड्ने सडक कालोपत्रलाई पूर्णताका साथै ढोरपाटनलाई सडक सञ्जालमा जोडेर पश्चिम म्याग्दीको समग्र विकासलाई अघि बढाउने हाम्रो प्रतिवद्धता छ ।”

प्रतिनिधीसभा सदस्यका उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले धवलागिरी गाउँपालिकालाई जलविद्युत र जडिवुटीको माध्यमबाट सम्बृद्ध गराउने योजना सुनाउनुभयो ।

“यहाँ निजी क्षेत्र मार्फत भित्रिएका जलविद्युत आयोजना कार्यान्वयनको क्रममा रोजगारी सिर्जना गर्न सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारबीच समन्वयको वातावरण बनाउँछु,” उहाँले भन्नुभयो “जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि र पर्यटनको रोयल्टीबाट यस क्षेत्रको विकास बजेट बढ्छ । नागरिकको आधारभूत आवश्यकता र माग अनुसारका योजना कार्यान्वयन गर्न सहज हुन्छ ।” त्यस्तै आइतवारनै प्रदेश सभा क का उम्मेदवार हरि भण्डारी सहितको गठवन्धनको टोलीले बेनी बजारमा घरदैलो गरि मतदाताहरु समक्ष भोट मागेको जनाईएको छ ।

 

 

 

You can share this post!

बाम लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो

जिल्लाको विकास र सुशासनका लागि मेरो उम्मेदवारी होः एमाले उम्मेदवार श्रेष्ठ

Related posts