बेनपा ४ तातोपानीमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

म्याग्दी । आर्थिक बर्ष २०७९÷०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ । बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

बेनी नगरका मेयर सुरज केसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरबासीले नगरको गुरुयोजना निर्माण गर्न, खानेपानीमा एक घर एक धारालाई पुर्णता दिन, खानेपानी समस्यालाई प्राथमिकता राखेर समाधान खोज्न, सिचाई नहर मर्मतमा ध्यान दिन, तातोपानी बजारमा ढल निकासको समस्या समाधानमा पहल गर्न, पहिरो, भूक्षय नदीको कटानको जोखिमबाट तातोपानीबजारलाई जोगाउने योजना अघि बढाउन माग राखेका थिए ।

सावर्जनिक सुनवाईमा सरकारी विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन, बेनी–दरवाङ सडकमा नाली सरसफाई, सडक मर्मत लगायतको काम समयमै गराउन, पर्यटन पुर्वाधार निर्माण जोड दिन, विकास निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन अनुगमनमा ध्यान दिन, सिपयुक्त तालिम ब्यवस्थापन गर्न, बजार क्षेत्रमा पार्किङको सुविधा विस्तार गर्न, खेलकुद पुर्वाधार निर्माण जोड गर्न, बैकिङ डिजिटल सेवालाई विस्तारमा समन्वय गर्न, नगरको सेवाप्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउन माग राखेका थिए ।

नगरपालिबासीले उठाएको जिज्ञासाको जवाफ दिदै मेयर केसीले संघ, प्रदेशले निर्माण गरेका अलपत्र पारेका संरचनालाई पूर्णता दिन पहल गरिरहेको बताउनुभयो । म्याग्दी नदीको कटानको जोखिममा रहेको सिंगा तातोपानी बजार र मसारको बस्तीलाई जोगाउन नगरको बजेटबाट गर्न नसकिने बताउदै संघ र प्रदेश लगायतको समवन्य गरेर रुपाताल संरक्षण योजना ल्याउने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

उहाँले तातोपानी कुण्डलाई नदी कटानबाट जोगाएर प्रमुख आम्दानी स्रोतको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको सार्वजनिक सुनुवाई उल्लेख गर्नुभयो । “नगरबाट ठेक्का प्रक्रियाबाट गरेका विकास निर्माणमा शतप्रतिशत काम हुन सकेको छैन्”– उहाँले भन्नुभयो “बेनी–पाखापानी सडक नगरले छुट्याएको १ करोड बजेट १ किलोमिटर पनि सडक स्तरोन्नती गर्न नसकिने अवस्था नगरमा रहेको छ । आम्दानीको स्रोत कम हुदाँ विकास निर्माणले पूर्णता पाउन सेकेको छैन् । यस्तै बजेट अपुगको समस्या अन्य सडक स्तरोन्नतीमा पनि भएको छ ।”

मेयर केसीले रावण पार्क, खुल्लामञ्चको प्यारापिट निर्माणधिन अवस्थामा रहेको छ । गोस्वारा, तमाने, एकीकृत जामुनाखर्क, खवरा खानेपाी र राउवडा खानेपानी योजना निर्माण सम्पन्न अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । नगरमा उपमेयरसंग आमासमुह कार्यक्रममार्फत वडानम्वर १, २ र ३ मा सिपमूलक तालिम लगायतको कार्यक्रममा आमासमूहको भवनमा गरिरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले नगरबासी बृद्ध, अपाङ्गता लगायतले पाउने नागरिकता लगायत अन्य सुविधाको विषयमा जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर उपलब्ध गराएको बताउनुभयो । ढकालले उद्योग वाणिज्यतर्फ विनियोजन भएको ५० लाख रुपैया नगरबासीलाई रोजगार र उत्पादनसंग जोड्ने सिपमूलक तालिम लगायतमा खर्च गरिने जानकारी दिनुभयो ।

“जनताको अपेक्षा पुरा गर्ने नगरमा स्रोतसधान र आर्थिक अभाव छ। चालु आर्थिक बर्षमा नगरको योजना जनताको आवश्यकताको आधारमा छनोट भएका छन् । त्यही योजनालाई कार्यान्वयन गर्न माग अनुसारको बजेट विनियोजन गरिएको छ।” ढकालले भन्नुभयो “ नगरपालिकाले कानुन पालना गरेर सेवाप्रवाह, विकास निर्माणको काम र विभिन्न कार्यक्रम गरेको छ ।” सो कार्यक्रममा उपस्थित वडाअध्यक्ष अर्णबहादुर खड्का, गोविन्द्र बानियाँ, कृष्णसिङ बानियाँ लगायतले वडाभित्रको विकास निर्माणबारे उठेको प्रश्नको जवाफ दिनुभएको थियो ।

राजनीतिक दलतर्फबाट बोल्दै नेपाली कांग्रेसका बेनी नगर उपसभापति हरिप्रसाद पौडेलले जनताका समस्यालाई समाधान गर्न आगामी दिनमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका विषयगत कार्यालयका प्रमुखलाई बोलाउन आग्रह गर्नुभयो । पौडेलले पहिलो चौमासिकको प्रगति सार्वजनिक मात्र होईन दोस्रो चौमासिकमा विकासतर्फ, आयस्रोततर्फ यो यो काम गर्छौ भन्ने ठोस योजना जनप्रतिनिधि र कर्मचारी ल्याउन माग गर्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका बेनी नगरपालिका संयोजक शेरबहादुर केसीले जनताले राजनीतिक दलमाथि राख्ने समस्या जनप्रतिनिधि र कर्मचारीमाथि राख्ने वातवरण तयार गर्न आग्रह गर्नुभयो । नगरको सार्वजनिक सुनुवाई, नगर बैठक लगायतको विभिन्न कार्यक्रममा संघ, प्रदेशका जनप्रतिनिधि र राजनीतिकि दलसंग समन्वय, उपस्थित गराएर अघि बढ्न सकेमा जनताको आकांक्षा अनुसार काम गर्ने वातावरण तयार हुने बताउनुभयो । पत्रकार महासंघ म्याग्दीका सदस्य कृष्ण जिसी, साधन राम्जाली र धीरन खत्रीको सहजीकरणमा सार्वजनिक सुनवाई सम्पन्न भएको थियो ।

 

You can share this post!

युके निवासी शिला थापाद्वारा बरंजाका विद्यालय तथा संघ संस्थालाई ११ लाख बढि सहयोग

जेसीजद्वारा हिमालय आधारभुतका विद्यार्थीलाई न्यानो पोसाक वितरण

Related posts