निर्वाचन खटिने कर्मचारी छनौट असमानपूर्ण भएको गुनासो

म्याग्दी । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्मचारी छनौंट र परिचालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनियमितता गरेको गुनासो सुनिन थालेको छ ।
निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा प्रशासनले मनलाग्दी गरेको गुनासो आएको हो । जिल्ला प्रशासन र सहायक निर्वाचन अधिकृतको मिलेमतोमा कर्मचारी परिचालनमा लापरबाही भएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारी खटनपटन गर्दा जिल्ला प्रशासन कार्यालयले राजनीतिक आस्था र विचारका आधारमा विभेदपूर्ण व्यवहार गरेको एक कर्मचारीले  बताउनुभयो । अधिकृत स्तरको कर्मचारीलाई सहायक मतदान अधिकृत र नासू स्तरको कर्मचारीलाई मतदान अधिकृत बनाइएको ति कर्मचारीले बताउनुभयो । निर्वाचन गराउनका लागि कर्मचारी खटाउने कार्य महत्वपूर्ण हुन्छ तर जिम्मेवारीमा वसेकाले गैरजिम्मेवारी प्रवृत्ति प्रदर्शन गरेको ति कर्मचारीले आरोप लगाउनुभयो ।

राजनीतिक प्रभावमा परी जिल्ला प्रशासनले कर्मचारीहरुलाई असमानपूर्ण व्यवहार गरेको ति कर्मचारीले दुखेसो पोख्नुभयो । गत साउनमा सेवा निवृत्त भएका,सुत्केरी तथा असाधारण विदामा वसेका कर्मचारी समेतलाई निर्वाचनमा छनौंट गरेर जिल्ला प्रशासनले लापरबाही गरेको पाइएको ति कर्मचारीको भनाई छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतदान अधिकृतका रुपमा खटिएका कर्मचारीहरुलाई अहिले सहायक बनाएर असमानपूर्ण व्यवहार गरेको ति कर्मचारीले गुनासो राख्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार म्याग्दीका एकसय २० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण सार्वजनिक गरेको थियो । विवरण सार्वजनिक भएसँगै कतिपय कर्मचारीहरु असन्तुष्ट हुँदै निर्वाचनमा नजाने भन्दै नाम कटाउन निवेदन बुझाएका छन् ।

यता सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले यति धेरै कर्मचारी परिचालन गर्दा अलि अलि गुनासो आउनु स्वभाविक भएको बताउनुभयो । माविका शिक्षकहरुलाई खटाउँदा एकदुई स्थानमा समस्या भएको उहाँले बताउनुभयो । हामीले सन्तुलन मिलाएर कर्मचारीको विवरण सार्वजनिक गरेका हौं सहायक निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ‘अलिअलि त्रुटी भएको छ नै, त्रुटी कमजोरीलाई सुधार गरेर अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेका छौं ।’

सवैको चित्र बुझाउन सकिदैन समग्रमा सन्तुलन मिलाएर कर्मचारी छनौंट गरेको उहाँको भनाई छ । सेवा निवृत्त भएको र सुत्केरी विदामा वसेकाका हकमा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयको कमजोरी नभएको र विवरण दिने सम्बन्धित कार्यालयको कमजोरी भएको उहाँले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई २६ र २७ गते तालिमको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

You can share this post!

डोटीमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ६ पुग्यो

एमालेको चुनावी सभाः कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार विकासको प्रतिबद्धता

Related posts