व्याजदर नघटाए बैंकहरुलाई साँवा र व्याज तिर्दैनौँः उद्योग बाणिज्य संघ

म्याग्दी । म्याग्दी उद्योग बाणिज्य संघले बैंकहरुले बढाएको व्याजदर तत्काल घटाउनुपर्ने मागसहित शुक्रवार ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानामार्फत अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पठाइएको हो ।

बैंकहरुले बढाएको व्याजदर फिर्ता गर्नुपर्नेलगायत विभिन्न १२ बुँदे मागहरु समावेश गरी तयार पारिएको ज्ञापनपत्र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले प्रजिअ रानालाई हस्तान्तरण गर्नुुभएको थियो । ब्याजदर बृद्धिमा संघले विरोध समेत जनाएको छ ।

उक्त ज्ञापनपत्र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, गण्डकी प्रदेश पोखरा र देशभरका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई बोधार्थ पठाइएको छ । ज्ञापनपत्रमा कोभिड–१९ को महामारीबाट विश्व व्यापारमा देखिएको आर्थिक मन्दीसहित नेपालका निजी क्षेत्रले तरलताको अभाव खेपिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुबाट एक्कासी कर्जामा गरिएको व्याजदर वृद्धि एवं चालु पुँजी कर्जा मार्गदर्शन–२०७९ को व्यवस्थाप्रति म्याग्दी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रजिअ रानामार्फत नेपाल सरकार तथा राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाउँदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले बैंकहरुले बढाएको व्याजदर तत्काल फिर्ता गर्नुपर्ने नभए सबै उद्योगी, व्यवसायीहरुले कडा आन्दोलन गर्ने बताउनुभयो । उहाँले माग सम्बोधन नभएमा निजी क्षेत्रको तर्फदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई बहिष्कार गर्ने, तिर्नुपर्ने साँवा र व्याज नबुझाउने तथा उद्योग, व्यवसाय नै बन्द गरेर चरणबद्ध रुपमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

ज्ञापनपत्रमा कर्जा लगानी गरेपश्चात् कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिविना व्याजदरमा वृद्धि गर्न नहुने, एकल विन्दुमा व्याजदर कायम हुनुपर्ने, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ मा रहेको कुल कारोबारको २० प्रतिशत मात्र कर्जा पाउने व्यवस्था तत्काल लागू गर्न नहुने, विगतमा मौद्रिक नीतिमार्फत दिएका छुटहरु कार्यान्वयन हुनुपर्नेलगायत मागहरु उल्लेख गरिएको छ । बैंकहरुले यही कात्तिक १ गतेदेखि ऋणको ब्याजदर झण्डै १८ प्रतिशत पु¥याएका छन् । व्याज वृद्धि नियन्त्रणको मागसहित व्यवसायीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

यसैबीच सोही अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रजिअ रानालाई मालढुङ्गा–बेनी र बेनी–मुस्ताङ सडकखण्ड मर्मतसम्भारको सम्बन्धमा ज्ञापनपत्र बुझाएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकखण्डअन्तर्गत पर्वतको मिलनचोक नजिकै केराबारी भन्ने ठाउँमा गएको असोज १९ गतेदेखि परेको अविरल वर्षाले पहिरो जाँदा सडक बन्द भएको थियो । अहिले उक्त सडकखण्डमा सडक स्तरोन्नतिको कार्य भैरहेको भनिए पनि निकै सुस्त गतिमा काम भएकाले वर्षाले सडक बिग्रिएको खण्ड मर्मत गरी एकतर्फी रुपमा भए पनि यातायात र मालवाहक सवारी आगमनको वातावरण मिलाउन ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ ।

त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको बेनीदेखि घाँसासम्मको सडकको विभिन्न स्थानमा वर्षाले सडक बिगारेका हुँदा सहज यातायातमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेकाले यस खण्डमा पनि आवश्यक मर्मतसम्भार गरी सहज यातायातको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । बेनी–मालढुङ्गा र बेनी–जोमसोम सडकमार्ग भएर दैनिकजसो यात्रुवाहक बस, मालवाहक गाडी तथा आन्तरिक र बाह्य पर्यटक एवं पदयात्रीहरु आवतजावत गर्ने गर्दछन् ।

You can share this post!

बिमको एकिकृत बस्तीमा प्रवेशद्वार उद्घाटन, मोनाले विपत न्युनिकरणको सन्देश दियोः समन्वय प्रमुख थापा

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

Related posts