पुलाचौरका मतिलाललाई ५० हजार पुरस्कार, २४ हजार ऋण मिनाहा

 

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका समाजसेवी सुरथबहादुर भण्डारीले पुरुन्डीका मतिलाल परियार (नानी)लाई नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

मंगलबार पुलाचौरको वसन्त आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमको अवसर पारेर भण्डारीले परियारलाई उक्त रकम सहयोग गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका समाजसेवी भण्डारीले आफ्नो घरमा लामो समयसम्म बसेर काम गरी सहयोग पु¥याएकोमा सम्मान व्यक्त गर्दैअमेरिकाबाट आफ्ना छोराहरु अमर भण्डारी र प्रकाश भण्डारीले पठाएको उक्त रकम दीर्घ सेवा पुरस्कार स्वरुप मतिलाललाई हस्तान्तरण गरेको बताउनुभयो ।

परियालाई नगद हस्तान्तरण गर्दै भण्डारीले नगद रकम बैंकमा बचत राखेर आफ्नो स्वास्थ्यका लागि औषधी उपचार गर्न तथा घरखर्च चलाउने गरी खर्च गर्न सुझाव दिनुभयो । सोही अवसरमा भण्डारीले विगतमा परियारलाई दिएको २४ हजार रुपैयाँ ऋणको तमसुक च्यातेर उक्त ऋण समेत मिनाहा गरिदिएको घोषणा पनि गर्नुभएको थियो ।

समुदायको विकास तथा सामाजिक क्षेत्रमा क्रियाशील भण्डारीले विगतमा पनि विभिन्न क्षेत्रमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आइरहनुभएको छ । यसअघि नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई ठूलो क्षमताको अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको थियो । आगामी दिनमा पनि सहयोग गर्ने कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

You can share this post!

वसन्त आधारभूत विद्यालयमा विविध कार्यक्रम, विद्यालयलाई फलामे पिङ सहयोग

राष्ट्रिय स्तरको भिडियो प्रतियोगितामा न्यु वेष्ट पोइन्ट द्वितीय

Related posts