गैरकानुनी रुपमा राज्यको रकम लिएको छैनः निर्वतमान मेयर श्रेष्ठ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठले कानुन विपरित रहेर राज्यको पैसा एक रुपैयाँ पनि नलिएको बताउनुभएको छ ।

विहिवार बेनी नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि श्रेष्ठले पछिल्लो समय नगर प्रमुखको नाममा बेरुजु आएको विषयमा विभिन्न समाचार माध्यमहरुमा समाचार प्रकाशन तथा सामाजिक सञ्जालमा समेत टिका टिप्पणी भएको विषयलाई खण्डन गर्दै आफ्नो कार्यकालमा नीतिनियम विपरित रहेर कुनै पनि आर्थिक अनियमितता नगरेको प्रस्ट्याउनु भएको हो ।

निर्वतमाननगर प्रमुख श्रेष्ठले महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाममा देखिएको १० लाख रुपैयाँको बेरुजु रकम आर्थिक अनियमितता तथा भ्रष्टाचार नभएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारद्वारा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधाका सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को दफा ८ मा सरकारी कोषबाट निवृत्तभरण पाएको व्यक्ति जनप्रतिनिधिमा निर्वाचित भएमा एउटा मात्र सुविधा पाउने व्यवस्था गरिएकोले नगर प्रमुखमा निर्वाचित भएको २ बर्ष सम्म नगरपालिकाबाट पाउने पारिश्रमिक नलिएको उहाँले बताउनुभयो ।

तर २०७७ सालमा गण्डकी प्रदेश सरकारले उक्त ऐन संशोधनगरि दफा ३ को उपदफा २ मा स्थानीय तहका पदाधिकारी वा सदस्यको सुविधा सम्वन्धी ऐन २०७४ बमोजिम मासिक सुविधा नपाएका पदाधिकारी वा सदस्यले सो सुविधा नपाएको मिति देखिनै यस ऐन बमोजिमको सुविधा पाउने भनि व्यवस्था गरेकाले सोही कानुनको आधारमा आफुले नगरपालिकाबाट सेवा सुविधा लिएको निवर्तमान मेयर श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारले निर्माण गरेको कानुनलाई टेकेर बेनी नगरपालिकाले मेयर श्रेष्ठको सेवा सुविधा बापतको सुरुको दुई बर्षको एकमुष्ट हुन आउने रकम १० लाख ८ हजार ६ सय ७५ रुपैयाँ उहाँको खातामा उपलव्ध गराएको थियो । तर महालेखा परिक्षकको कार्यालयले मेयरले दोहोरो सेवा, सुविधा लिएको भन्दै सो रकमलाई बेरुजुको रुपमा प्रतिवेदनमा उल्लेख गरेको छ ।

महालेखा परिक्षकको बार्षिक प्रतिवेदन २०७९ मा मेयर श्रेष्ठ सहित बेनी नगरपालिका वडा नम्वर ४ का अध्यक्ष गोविन्द पौडेलको ६ लाख ६७ हजार २ सय ८०, वडा नम्वर १ का वडा सदस्य टेक बहादुर थापाको ३ लाख ५६ हजार ४ सय र वडा नम्वर ६ का वडा सदस्य दयासागर शर्माको ३ लाख ५६ हजार ४ सय रुपैयाँ बेरुजु देखिएको थियो ।

बेरुजु देखिएको रकममध्य बेनी नगरपालिका वडा नम्वर १ का वडा सदस्य थापाले भने स्थानीय तहको निर्वाचन अगावै आफ्नो नाममा देखिएको बेरुजु रकम बुझाउनु भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । वडा अध्यक्षमा निर्वाचित थापाले अध्यक्षमा उम्मेदवारी दिनुभन्दा पहिला नै बेरुजु रकम बुझाउनु भएको थियो ।

महालेखा परिक्षकको प्रारम्भिक प्रतिवेदनमा बेरुजु देखाई असुलउपर गर्न भनिएको र त्यसको कारण सहितको प्रतिक्रिया नगरपालिकाले अनलाईन सिस्टमबाट पठाएको अधिकृत ढकालले बताउनुभयो । ‘हामीले प्रतिक्रिया पठाएका छौँ, महालेखाले समयमै प्राप्त गर्न नसक्दा प्रतिवेदनमा बेरुजु उल्लेख भएको छ’, अधिकृत ढकालले भन्नुभयो, “संपरिक्षणको प्रक्रियामा छ सम्भवत उहाँहरुको बेरुजु हट्न सक्छ” ।

महालेखा परिक्षकको कार्यालयबाट आउने डोर टोलीलाई प्रतिवेदन पेश गर्ने गरि लेखा समितिले तयारी गरेको यो विषयमा महालेखा संग पनि छलफल भईरहेको उहाँको भनाई छ ।

ऐनले व्यवस्था गरेको आधारमा सुविधा लिएकाले कानुनको मर्यादालाई उलङ्घन नगरेको भन्दै आवश्यक परे अदालत जान समेत सक्ने निवर्तमान प्रमुख श्रेष्ठको भनाई छ । उहाँले सेवा, सुविधाबापत पाएको रकम जिल्लाको शैक्षिक तथा विपतको क्षेत्रमा समेत सहयोग गरेको बताउनुभएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत ढकाल, अधिकृत युवराज थापा, लेखा प्रमुख रत्न केसी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

दरबाङमा बजार अनुगमन

अडिटर्स एशोसियसनको बेनीमा कार्यालय शुभारम्भ

Related posts