म्याग्दी । नेकपा एमाले मालिका गाउँपालिका कमिटीले वडा नम्वर ६ दिच्याममा चुनावी आम सभा सम्पन्न गरेको छ । सोमवार अध्यक्षका उम्मेदवार बेग प्रसाद गर्वुजा, उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुन, वडा अध्यक्षका उम्मेदवार पदबहादुर रोका लगायत पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा आमसभा गरिएको हो ।
सभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र थापाले देशका जिम्मेवार नेताहरुबाट कतै माआवादीले नजिते देश दुर्घटनामा जाने र कतै काँग्रेसले नजिते स्थानीय तहमा बजेट नपठाउने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर गठवन्धनलवालाहरुले जनतालाई भ्रम सृजना गरि धम्की दिइरहेको बताउनुभयो ।
तर वास्तविक रुपमा देशको विकास गर्ने, समृद्धिका योजना बनाउने, र जनभावनाका काम गर्न पार्टी नेकपा एमाले प्रति जनताको माया र साथ झन बढ्दै गएको थापाको भनाई छ । उहाँले बैशाख ३० मा सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई मालिकामा बिजयी बनाउन पनि दिच्यामबाट सम्पूर्ण मालिकाबासीहरुमा अनुरोध गर्नुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा बिजयी बनाउन दिच्यामबासीको महत्वपूर्ण भूमिका रहेको भन्दै आभार प्रकट गर्नुभयो ।
यसपालिको निर्वाचनमा पार्टीको सल्लाह र निर्देशन अनुसार आफु दावी गरेको उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको भन्दै विटालुले भन्नुभयो, ‘मेरो जन्मगाउँ दिच्यामबाट विगतमा मलाई जस्तै यसपालिमा पनि नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन बाकस भरि सूर्य चिन्हमा मतदान गरि पठाउनुहुनेछ’ ।
कार्यक्रममा नेकपा एमालेको पालिका कमिटी अध्यक्ष एवम् गाउँपालिका अध्यक्षका उम्मेदवार बेग प्रसाद गर्वुजाले मालिका भरि विकास फिँजाउने योजना लिएर आएको बताउनुभयो । हामीसंग आश्वासन होइन, सपना होइन, विश्वास छ र योजना छ, ‘२०७४ सालको निर्वाचनमा झिनोमतले हारेपनि म निरन्तर जनताकै सेवामा छु, मालिकाको आवश्यकता र सम्भावनाहरुको अध्ययन गरेर बसेको छु’ अध्यक्षका उम्मेदवार गर्वुजाले भन्नुभयो, “अहिलेत मलाई जिताउनु हुन्छ होला भन्ने आशा गरेको छु । मलाई जिताउनुस तपाईहरुको भोट खेर जान दिने छैन” ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार लक्ष्मी पुनले नागरिकको सुरक्षा, समानता, एकता र सद्भाव सहितको समुन्नत समाज निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पाँच बर्ष मालिकाबासीको सेवामा तत्पर रहनका लागि उर्जा, जोस र जाँगर सहित चुनावी प्रतिस्पर्धामा उत्रिएकाले सूर्य चिन्हमा मतदान गरि महुमतका साथ विजयी गराउन पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार पदबहादुर रोकाले वडाको विकास, समृद्धि र नागरिकको सेवाका लागि आफ्नो टिमलाई मतदान गर्न अुनरोध गर्नुभयो । कार्यक्रम पालिका कमिटी सचिव सन्तोष सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।
यो संगै एमालेले मालिकामा वडा स्तरीय आम सभा सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा पनि सोमबार नै घरदैलो अभियान संचालन गरि भोटको अपिल गरिएको पालिका कमिटी उपसचिव भुपेन्द्र नेपालीले जानकारी दिनुभयो । आज मालिका ७ बिममा घरदैलो अभियान गरि मतदाता भेटघाट गरिएको छ ।