ताकममा एमालेको वृहत चुनावी सभाः सकियो प्रचार अभियान

म्याग्दी । बैशाख ३० गते सम्पन्न हुने स्थानी तह निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत सोमवार नेकपा एमालेले धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकममा बृहत चुनावी सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राष्ट्रियताको पक्षमा उभिने पार्टी नेकपा एमाले भएको बताउनुभयो ।
अहिले गठवन्धनको सरकारले देश र जनताको हितमा रहेर कुनैपनि काम नगरेकाले यो सरकार असफल भएको भन्दै थापाले विकासप्रेमी पार्टी एमालेमा जनलहर बढेको बताउनुभयो ।

केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज भूपेन्द्र थापाले केपी ओली नेतृत्वको सरकारले गुमेको भूमिलाई समेटी चुच्चे नक्सा सार्वजनिक गरेको, देशलाई सुरुङमार्गमा प्रवेश गराएको, नाकाबन्दीको डटेर सामना गरेको, भुकम्पले ढलाएको धरहरा उठाएको, ४ लेन र ६ लेनका सडकहरु निर्माण गरेको, टुइन विस्थापन गरेको जस्ता कार्यहरुको स्मरण गराउनुभयो ।

विकासका यिनै कार्यहरुले एमाले जनतासामु लोकप्रीय बेनेको उहाँको भनाई थियो । केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनले यो क्षेत्रबाट चुनाव जितेर गएपछि संसद विकास कोषबाट धवलागिरी मावि ताकमलाई रु २५ लाख बजेट उपलव्ध गराएको बताउनुभयो ।

पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएका पुनले ताकमा दिवा सेवा केन्द्र स्थापनाका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको बताउनुभयो । गण्डकी प्रदेश भरिमा ५ वटा विद्यालयलाई नमूना आवासीय मावि बनाउने कार्यक्रममा हेम माविलाई छनौट गरि भवन निर्माण गरिएको बताउनुभयो ।

सो भवनका लागि चालु आर्थिक बर्षका लागि रु १ करोड ५० लाख बजेट बिनियोजन गरेकोमा एकालेको सरकार ढलाएर बनेको गठवन्धनको सरकारले बजेट कटौति गरि रु १० लाख मात्र विनियोजन गरि धवलागिरीबासीको सपनामा कुठाराघात गरेको बताउनुभयो ।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार थमसरा पुनले भुगोलको हिसाबले जिल्लाको विकट पालिकाको रुपमा रहेको धवलागिरीको  ग्रामिण बस्तीहरुमा शिक्षा, स्वास्थ्य, सडक, कुषि, पर्यटन लगायतका क्षेत्रका सर्वाङ्गीण विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले सुशासन कायम गरि सेवालाई नागरिक मैत्री बनाउने बताउनुभयो । नि.पालिका अध्यक्ष समेत रहनुभएका पुनले विगतको पाँच बर्ष पनि जनताको भावना र आवश्यकता अनुसारको कार्य सम्पादन गर्नुभएको छ । उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले समाजका सवै अंगहरुको सवलीकरण र उत्थानका निम्ती कार्य योजना तयार गरिएको बताउनुभयो । व्यक्ति सक्षम भए परिवार र समाज सवल हुने भन्दै उहाँले नागरिकको सिप, कला, क्षमता र व्यक्तित्व विकासमा विशेष प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य रेशम भण्डारी, जिल्ला कमिटी सचिवालय सदस्य देव बहादुर थापा, जिल्ला कमिटी सदस्य दिनेश केसी, वडा अध्यक्षका उम्मेदवार खुम बहादुर थापा (राजु) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चुनावी सभा नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष रेशम छन्त्यालको अध्यक्षता, वडा कमिटी अध्यक्ष कलानिधि सुवेदीको स्वागत र जिल्ला कमिटी सदस्य ईश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । यो संगै धवलागिरीमा नेकपा एमालेको चुनावी प्रचार अभियान सकिएको छ । वडा नम्वर १ गुर्जा बाहेक सवै वडामा उम्मेदवार सहित वडा स्तरी चुनावी सभा सम्पन्न गरिएको पालिका कमिटीले जनाएको छ ।

You can share this post!

दरवाङमा माओवादीको चुनावी सभाः मालिका बासीको भव्य उपस्थिति

नमूना वडा निर्माण गर्ने स्वतन्त्र उम्मेदवार शाक्यको प्रतिवद्धता

Related posts