पालिका केन्द्रित म्याग्दीका दलहरु

आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा म्याग्दीका राजनैतिक दलहरु पालिका केन्द्रित हुन थालेका छन । नेकपा एमाले, नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रले पालिका केन्द्रित भएर निर्वाचन लक्षित कार्यक्रमहरु संचालन गर्न थालेका हुन । स्थानीय तहको पार्टी कमिटीलाई बलियो र संस्थागत गर्न दलहरुले पार्टी कार्यालय स्थापना,वैठक र भेलालाई तिव्रता दिन थालेका छन् ।

दलहरुले आगामी निर्वाचन लक्षित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि पालिकाका केन्द्रहरुमा कार्यालय संचालन गर्न जुटेका छन । शनिबार मात्रै माओवादी केन्द्रले रघुगंगामा पार्टी कार्यालय स्थापना गरेको छ । एमालेले जिल्लाको सबै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याइसकेको छ । काँग्रेसले भने स्थानीय तहमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छैन । प्रदेश स्तरको पार्टी समितिबाट उसले निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले जिल्लाका सवै पालिकाहरुमा पालिका कमिटिको कार्यालय स्थापना गरि चुनाव लक्षित कार्यक्रम संचालन गरिएको बताउनुभयो । जिल्लाको प्रमुख दल नेकपा एमालेले सवै पालिकाहरुमा भातृ संगठन गठन, वडा कमिटिका वैठक, टोल कमिटि गठन लगाएतका कार्यहरुलाई तिव्रता दिएको अध्यक्ष कटुवालको भनाई छ । नियमति रुपमा कार्यालय संचालन गर्ने गरि व्यवस्थापकीय कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

नेकपा एमाले मंगला गाउँपालिका कमिटि अध्यक्ष सतप्रसाद रोकाले मंगला गाउँपालिकाका सवै वडामा टोल भेला, कमिटि गठन तथा कार्यकर्ता भेटघाटलाई तिव्रता दिईएको बताउनुभयो । वडा स्तरमा अखिल नेपाल महिला संघको कमिटि गठन भएका छन । जातिय मुक्ति समाज पनि प्रत्येक वडामा गठन गर्न लागिएको उहाँले बताउनुभएको छ ।

जिल्लाको अर्को ठुलो दल नेपाली कांग्रेसले पनि चुनाव लक्षित कार्यक्रमलाई जिल्लाभर संचालन गरिरहेको छ । गाउँगाउँमा टोल समिति गठन, भातृ संगठन गठन तथा कार्यकर्ता भेटघाटलाई तिव्रता दिइएको उपसभापति केबी भण्डारीले बताउनुभयो । काँग्रसले अहिलेसम्म पालिका स्तरमा कार्यालयनै खडा भने गरेको छैन उहाँले भन्नुभयो ‘प्रदेश निर्वाचन समिति मार्फत स्थानीय तहका पार्टी संगठनहरुले निर्वाचन लक्षित कार्यक्रमहरु सञ्चालन गरेका छौं ।’

कार्यालय नै त स्थापना गरेका छैनौँ तर स्थानीय तहको चुनावमा जिल्लाका ६ वटै पालिकामा जित हाँसिल गर्ने योजनाका साथ गाउँ तथा टोल स्तरीय कार्यक्रमलाई अगाडी बढाईरहेका छौँ, नेपाली काँग्रेस म्याग्दीका उपसभापति भण्डारीले भन्नुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वेनी नगरपालिका सहित ४ पालिका प्रमुख जितेको कांग्रेस आगामी निर्वाचनमा ६ वटै पालिका प्रमुख जित्ने दाउमा छ ।

स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै चुनाव केन्द्रित कार्यक्रम संचालनका लागि मौवाफाँटमा कार्यालय स्थापना गरको माओबादी केन्द्रले जिल्लाका अन्य पालिकाहरुमा पनि कार्यालय स्थापना गरिसकेको छ ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली सुविनले जिल्लाका छ वटै पालिकामा कार्यालय स्थापना गरि विभिन्न कार्यक्रमहरु संचालन भईरहेको जानकारी दिनुभयो । टोल टोलमा पुगेर कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा कमिटि गठन गर्ने कार्यमा नेताहरु खटिएको संयोजक जुग्जालीले बताउनुभयो ।

हाल देशमा गठवन्धको सरकार छ । सरकारमै रहेका दलहरुले गठवन्धनालाई कायमै राखी स्थानीय तथा प्रदेश र संघको निर्वाचनमा सहभागी हुनसक्ने संकेत देखाएतापनि एमसीसीका कारण सत्ता गठबन्धनमा गडबढ देखिएको छ । भर्खर एमालेबाट छुटिएर बनेको नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्र काँग्रेससँगको गठबन्धन कायम राखेर स्थानीय तहको निर्वाचनमा जान चाहेका छन् । एमाले भने गठवन्धनसंग एक्लै चुनाव लड्ने तयारीमा जुटेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा दलहरुमा उम्मेदवारहरुको चर्चा हुनथालेको छ ।

You can share this post!

स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

प्रहरीसामु आज आफैं उपस्थित हुने पल शाहको घोषणा

Related posts