गोरखामा हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार साँझ करिब पाँच बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।
हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका–१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट–२ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन थिए ।
२३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।
‘घटनाको प्रकृति हेर्दा हिउँ खेल्ने क्रममा उनीहरु चिप्लिएर खोचमा पुगेको र माथि आउन नसकेर त्यही मृत्यु भएको देखिन्छ ।’ डिएसपी प्रकाश दाहालले भने । उनीहरूको शव खोचबाट बाहिर निकालिएको र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी अधिकृतसहितको टोली पठाइएको उनले जानकारी दिए ।
गण्डकन्यूज बाट साभार