म्याग्दी । वरिपरि धान खेतको फाँट, विचमा अग्लो भूभाग, त्यँही अग्लो स्थानमा आकर्षक मन्दिर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ बगरफाँटमा रहेको पुरानो दुर्गा भगवति मन्दिरले मुहार फेरेको छ ।
मन्दिरको पुनः निर्माण, रंगरोगन, मन्दिर सम्म पुग्ने पक्की पदमार्ग, रेलिङ, मन्दिर परिसरमा स्लेट ढुङ्गा विछ्याउने र मन्दिर परिसरदेखि उपल्लो फाँट सम्म जाने पक्की पदमार्ग निर्माण लगायतका भौतिक संरचना बनेपछि मन्दिरको सुन्दरता थपिएको हो ।
आर्थिक बर्ष २०७८÷०८९ मा गण्डकी प्रदेश सरकारका सांसद विनोद केसीको पहलमा सांसद विकास कोषबाट प्राप्त रु ४ लाख, प्रदेश सरकारकै पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट प्राप्त रु २ लाख र बेनी नगरपालिकाको रु १ लाख ५० हजार गरि कुल ७ लाख ५० हजारको लागतमा सो संरचना निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।
मन्दिर लगायतका संरचना निर्माणका लागि स्थानीयले १ लाख भन्दा बढिको श्रमदान समेत गरेका छन । २०३८ सालमा बगरफाँटबासीले स्थापना गरेको सो मन्दिरमा विगत ३ बर्षदेखि पुन निर्माणको काम भईरहेको छ ।
अघिल्लो दुई आर्थिक बर्षहरुमा डिभिजन बन कार्यालय, बेनी नगरपालिका लगायत संघ संस्थाबाट प्राप्त बजेट र स्थानीय बगरफाँट बासीले देश तथा विदेशमा संकलन गरेको करिव १५ लाख बराबरको आर्थिक सहयोगमा मन्दिर पुननिर्माणको कार्य गरिएको थियो ।
बगरफाँटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि दुर्गा भगवतिको मन्दिरलाई व्यवस्थित गरिएको समितिका अध्यक्ष कार्कीले बताउनुभयो । करिव ३ रोपणी सार्वजनिक जग्गामा निर्माण भएको मन्दिरले बगरफाँटलाई नै सुन्दर बनाएको छ । यस मन्दिरमा असोज र चैतको अष्टमीमा वलि सहितको पूजा हुने गर्दछ भने साधारण पूजाआजाका लागि सधैँ नै खुल्ला रहने गर्दछ ।
करिव ४० बर्ष अगाडि सामान्य ढुङ्गाबाट बनाईएको मन्दिरमा अहिले मन्दिर पनुनिर्माण, र अन्य भौतिक संरचनाहरु निर्माण भएपछि दर्शन तथा पूजाआजाका लागि सहजता संगै गाउँकै सुन्दरता बढेको स्थानीय समाजसेवी क्या. मिन बहादुर कार्कीले बताउनुभयो ।
मन्दिरको चारैतिर बत्ति राखेर झलमल बनाईएको छ । बेनी– बरंजा सडकको छउँबाट मन्दिर पुग्ने पक्की पदमार्ग र मन्दिरको फेँद देखिनै राखिएका विभिन्न देविदेवताको मूर्ति तथा साना मन्दिरहरु थप आकर्षणको रुपमा रहेका छन ।
मन्दिर परिसरमा अन्य संरचनाहरु सहित व्यवस्थापनको कार्य अझै बाँकी रहेकाले चालु आर्थिक बर्षमा पनि नगरपालिकामा रकमको माग गरिएको उपभोक्ता समितिका अध्यक्ष कार्कीको भनाई छ ।