लाहुरेदेखि उद्योग बाणिज्य सङ्घको अध्यक्षसम्म

हर कोहीपनि जन्मेर आउँदा सास मात्र लिएर आउँछ र मरेर जादा नाम छोडेर जाने गर्दछ । सामान्य अर्थमा जन्म पछिको र मृत्यु अघिको समयलाई नै जीवन भनिन्छ । एकपटक गुमाई सकेपछि फेरिफेरि प्राप्त गर्न नसकिने हुनाले पनि सवैलाई जीवन अमूल्य लाग्ने गर्दछ । फरक यति हो कि कठिनसँग प्राप्त गरेको जीवनलाई कसैले भरपूर प्रयोग गर्छन् भने कोही प्रयोग गर्न असमर्थ रहन्छन् । सफल जीवन जिउनु भनेको गास, बास र कपासको बन्दोवस्त गर्नुमात्र होइन । आफूलाई समय अनुकुल परिमार्जित गर्दै लानुपनि सफलताभित्र पर्दछ । स–साना कामहरु सरल तथा सहज तरिकाले सम्पन्न गर्नु पनि सफल ब्यक्तिको पहिचान हो । यस्तै जीवनका हरेक उकाली र ओरालीहरुलाई स्विकार गर्दै आफूलाई यहाँसम्म ल्याई पु्याउन सक्षम भएका छन् युवा ब्यवसायी उत्तम कर्माचार्य ।
२०२४ साल वैशाख ७ गतेको मिरमिरे बिहानीसँगै पिता टङ्कमान कर्माचार्य र माता लालकुमारी कर्माचार्यका कोखमा तेस्रो सन्तानको रुपमा (साविकः राखु भगवती–४) रघुगङ्गा–२ मा जन्मिएका उनी गाउँकै रातोमाटोमा खेलेरै हुर्किए । सामान्य परिवारमा जन्मिएका उनी घरमा हुने गरेका समस्याहरुलाई नजिकबाट चिन्ने मौका पाए । कान्छो सन्तानको रुपमा जन्मिएपनि अल्लारिएर हिड्ने समय कहिल्यै भएन । पिताले राखुकोट नजिको मुक्तिधाम माविमा पढाउन जाँदा ३÷४ बर्षको उमेरमै पिताको हात समाएर सँगसँगै स्कुल गएको र राखुकोटका ढुङ्गाहरुको सिरानी बनाई सुतेको स्मरण अहिलेपनि ताजै छ । अधेरी खोलाको श्री सिद्धार्थ ज्ञानमन्दिर प्राविमा प्राथमिक तहको पढाइ पूरा गरी कक्षा ४ देखि मुक्तिनाथ मावि राखुमा भर्ना भए । घरदेखि करिव पाँच मिनेटको दुरीमा रहेको स्कुलबाट दिनको खाजा खान दौडेर घर आउथे । प्रायः खाजा भनेको मकै र मोही हुन्थ्यो । स्कुल सकिएपछि घर पुगेर मकैले गोजि भरेर घाँस काट्न डोको बोकी पाखाबारीतिर लाग्नुप्रथ्याे ।

परिवार पाल्न मगर गाउँ पुगेर बुबाले कपडा बेच्नुहुन्थ्यो । त्यहीबाट आएको आम्दानीले सिङ्गो परिवारभित्र खुसी रोप्नु कतव्र्य थियो बाबाको । बटुवा धागोसँग अन्न साटेर सिङ्गो परिवारभित्र खुसी फुलाउने बाध्यता थियो आमाको । २०३६ सालको जन आन्दोलन उनको लागि झन् घातक बन्यो । अन्य समस्यात छँदै थियो त्यो आन्दोलन पनि उनको पढाइको लागि बाधक बन्यो । यसरी दुःखलाई नजिकबाट नियाल्दै २०४० सालमा मुक्तिनाथ मावि राखुबाट एस.एल.सी. दिन भनेर बेनीको प्रकाश माबि आए, र तीन जना साथीहरु (उत्तम कर्माचार्य, मुरारी शर्मा र भरत पून)को बीच सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गरे ।
उच्च शिक्षा पढाउन सक्ने उनको घरको अवस्था थिएन तरपनि पढ्नैपर्ने बाध्यता थियो । कलेज पढेर दिदी, दुई दाज्यू र बाबु आमाको सपना पूरा गर्नु थियो किनकि घरमा एस.एल.सी. पास भएको उनी मात्र थिए । अजिङ्गरको आहारा दैवले पु्याउँछ भनेझैं उनकी फूपू उनको साहारा बनेर उभिइन् । फूपुकै घरमा बसी उच्च शिक्षा अध्ययन गर्ने रहर बोकेर बुटवल बहुमुखी क्याम्पस बुटवलमा विज्ञानको बिद्यार्थीको रुपमा संकायमा भर्ना भए । आर्थिक अवस्थाकै कारण उनी अन्तिम बर्षको परीक्षामा सामेल हुन सकेनन् । निरास भए घर फर्के । घरको अवस्थालाई बुझेर भुरङ् तातोपानीको सूर्योदय निमाबिमा पढाउन शुरु गरे तर तत्कालिन स्कुल प्र.अ. भगवान श्रेष्ठले घर फर्कन आग्रह गर्दै नियुक्ति दिन मान्नु भएन । त्यसपछि निरास हुँदै फर्किएर घर पुग्दा मुक्तिधाम मा.बि.का प्र.अ. महेशचन्द्र प्रधानले घरमै आएर नियुक्ति पत्र थमाइदिनु भयो । कक्षा १० सम्म कक्षाको प्रथम हुँदै आएको कारण र लेखा विषयमा राम्रो ज्ञान भएकैले कक्षा ९ र १० लाई लेखा पढाउने जिम्मा दिइयो । करिव एक वर्ष पढाउदैगर्दा लेखा विषय शिक्षक श्री देवेन्द्रबहादुर केसी (हालः जिल्ला समन्वय समिति प्रमुख, म्याग्दी) आउनुभयो । त्यसपछि ६,७,८लाई गणीत विषय र ४ र ५ लाई अङ्ग्रेजी विषय पढाए ।
ठूली आमाको छोरा जो इण्डिया आर्मिमा कार्यरत हुनुहुन्थ्यो । उँहाको साथ लागेर आफ्नै माइला दाजुसँगै गोरखपुर घुम्न लागे । त्यो समय त्यहाँ भर्ती खुलको थियो । एकपटक देखिउन भन्दै रहरै रहरमा दुबै दाजुभाइ भर्ती हुनेहरुको लाइनमा उभिदा उनी भर्ती हुन सफल भए । उनी त्यसलाई आफ्नो भाग्यको खेल नै मान्दछन् । सँगै गएका दाजु घर फर्किन बाध्य भए भने उनी त्यतै बसे । त्यो समय २०४३ साल पौषतिरको कुरा हो । एघार महिनाको सिलाङ्मा भएको कठिन तालिमपछि ७÷८ GR को लागि इण्डियाको अलमोडामा उनी छानिए । त्यही पल्टनलाई IPKR को शान्तिसेना बनाएर श्रीलङ्काको जाफ्ना सहर पठायो । श्रीलङ्कामा दुईबर्ष बस्दा उनलाई तामिल भाषा सिक्ने अवशर मिल्यो । त्यस समय दोभाषेको काम गर्दा अफिसरहरुसँग नजिक हुने अवशर पनि मिल्यो । दुईबर्षपछि पल्टन इण्डिया फकिर्यो । त्यपछि उनी इण्डियाको राची पुगे । पञ्जाव पुगे । श्रीनगर र ताङ्घार पुगे । कहिले सेनको कमाण्डर बने, कहिले अपरेटर भएर काम गरे । त्यो समय उनी शिक्षित ब्यक्तिको रुपमा गनिन्थे । अफिसरहरु पनि उनको अघि नर्भस हुन्थे किनकि त्यो समय भनेको कक्षा ५ सम्म पढेका ब्यक्तिहरु भर्तीहुन पाउथे । अफिसरहरुको शैक्षिक योग्यताको हाराहारि नै थियो उनको योग्यतापनि । श्रीलङ्कामा रहँदा उग्रवादीहरुसँग आमने सामने भएर लडेको, आफ्नै आँखा अघि मिल्ने साथीहरु गोली लागेर छट्पटाउँदै प्राण त्यागेका घटनाहरु अहिले उनलाई कथा जस्तै लाग्छन् । मिलनसार स्वभाव भएकै कारण पल्टनमा रहँदा उनलाई धेरै किसिमका अवसरहरु पनि प्राप्त भए । उच्च स्तरीय तामिहरुमा सहभागी हुने अवसर पाए । तालिमहरुमा राम्रो अङ्कपनि प्राप्त गरे । राम्रो अङ्क प्राप्त गर्नेहरुलाई बढुवा गर्ने नियम थियो । भर्ती भएको चार वर्षमै नायक बने । छोटे समयमा उनको प्रगति भएको, अफिसरहरुसँग सम्पर्क बढ्दै गएको कतिपय आफ्नै साथीहरुलाई पनि असह्य भयो र उनको बारेमा अनेक कुराहरु लगाउन थाले । हवल्दार बन्ने समयमा उनको लाइन काटियो र बढुवा रोकियो । स्वाभिमानी उनलाई यो कार्य फिटिक्कै मन परेन र १९९४ को अप्रिल महिनामा उनी छुट्टीमा घर आए । फर्केर फेरि गएनन् । धेरै पटक काममा फर्किन आग्रह गरियो तर उनले सुनेनन् ।

उनलाई नेपालमै बसेर केही गर्ने रहर पलायो । आत्मा स्वाभिमान बढ्दै गयो । फलस्वरुप २०५० सालमा उनले भुरुङ् तातोपानीमा पहिलोपटक तीन लाख, चालिस हजार लगानी गरेर खुद्रा ब्यवसाय शुरु गरे । २०५१ सालमा सावित्रा श्रेष्ठसँग लगनगाँठो कसे । जिम्मेवारी बढ्दै गए, समस्याका चाङ्हरु थपिदै गए । समस्याहरु बढिरहेकै बेला २०५२ चैत्रको २७ गते खुसी थप्न आई पुगिन् छोरी शुक्रिया । धेरै दुःखहरुत उनी छोरीको अनुहार हेरेरै बिर्सन्थे । २०५४ सालमा छोरा सक्रियलाई जन्मदिए । ब्यवसाय फराकिलो पार्ने विचारले गाउँको मान्छे सहर पसे । हो, उनी ठूलो सपना बोकेर बेनी झरे । एउटा सोझो गाउँलेलाई सहरले सजिलोसँग चिन्दो रहेनछ । उनलाई पनि सजिलोसँग चिन्न खोजेन बेनीले । त्यस बिचमा बिदेस गएर पैसा कमाउने रहर मनभित्र जाग्यो । केही दलालहरुले सपना देखाए, उनले पनि सपना देखे तर लाखौं कोशिस गर्दापनि सपना साकार भएन र बाटो बदले । उनी विभिन्न सङ्घ संस्थामा लागेर सामाजिक सेवामा सक्रिय हुन थाले । यस कार्यमा उनलाई संलग्न गराउन सरोजकुमार श्रेष्ठको ठूलो भूमिका रह्यो । उँहाकै अनुरोधमा २०५७ सालमा म्याग्दी जेसिसको जिल्ला सदस्य हुने अवसर प्राप्त भयो । २०६० सालमा म्याग्दी उद्योग बाणिज्य सङ्घको सदस्यको रुपमा मनोनित हुने अवसर मिल्यो । २०६४ सालमा म्याग्दी जेसिसको जिल्ला अध्यक्ष हुने अवसर प्राप्त भयो । २०७१ सालमा लायन्स क्लव अफ बेनीको अध्यक्ष हुँदैगर्दा उनमा सामाजिक काम गर्ने इच्छाहरु क्रमशः बढदै गए । नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लव, बिभिन्न सहकारी सङ्घ संस्थाहरु, बिभिन्न बैङ्क तथा सामाजिक सङ्घ संस्थाहरुमा आवद्ध भएका उनी साथी भाइहरुसँग छिट्टै घुलमिल हुनसक्ने स्वभाव, कामप्रतिको लगाव र इमान्दिारिताकै कारण म्याग्दी उद्योग बाणिज्य सङ्घको सह–सचिव, द्धितीय उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै २०७४ साल कार्तिक ११ गते म्याग्दी उद्योग बाणिज्य सङ्घको अध्यक्ष हुने सु अवसर प्राप्त भयो ।
एक छोरा र एक छोरीका पिता उत्तम बाबु–आमाको आशीर्वादकै कारण पनि आफूलाई पूर्ण रुपमा सामाजिक सेवा सँगै ब्यवसायमा अर्पेका छन् । अझैपनि आफूले गर्नुपर्ने काम धेरै रहेको बताउँदै स साना असफलतामा निरास नहुन सल्लाह दिन्छन् । निरन्तरको प्रयासले नै सफलतामा पु्याउने उनको बुझाई छ । सङ्घर्ष नै सफलताका सूचक हुन् ।

You can share this post!

दुबै मृगौला फेल बेगखोले चेलिलाई युके बाट प्राप्त  २ लाख ८१ हजार घरमै पुगेर हस्तान्तरण

कृषिका कुरा–एक, मैले देखेको मेरो कृषि फार्मको मोडेल, अबकाश पछिको मेरो पेशा

Related posts
error: Content is protected !!