कुँहुका जनप्रतिनिधिले खादाको सट्टा फुलको मालालाई प्राथमिकता दिने

म्याग्दी । म्याग्दीको मंगला गाउँपालका वडा नम्वर १ कुँहुका नवनिर्वाचित जनप्रतिनिधिले स्थानीय फुलको माला लगाई पदभार ग्रहण गरेका छन । शुक्रबार वडा अध्यक्ष एकजित रोकाले पदभार ग्रहण गर्नुभएको हो । त्यस्तै वडा सदस्यहरु डिल कुमारी खत्री, संगीता किसान, ओमकार शेरपुन्जा (कुमार) र नर बहादुर खत्रीले पदभार ग्रहण गर्नुभएको हो ।

नवनिर्वाचित जनप्रतिनिधिलाई नि. वडा अध्यक्ष क्या.डेक बहादुर राम्जाली, कर्मचारी तथा गाउँका अगुवा व्यक्तिहरुको उपस्थितिमा फूलमाला सहित पदभार ग्रहण गराईएको हो । वडा कार्यालयमा आयोजित पदस्थापना कार्यक्रममा नि. वडा अध्यक्ष राम्जालीले वडाको हाल सम्मको गतिविधि र वस्तुस्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले विभिन्न प्राकृतिक प्रकोप, कोराना संक्रमण, तथा पछिल्लो समय सरकार फेरबदलका कारणले गर्दा प्रदेश र संघ सरकारबाट भनेजस्तो बजेट लिन नसकिएको बताउनुभयो । पदभार ग्रहण गर्दै वडा अध्यक्ष रोकाले आफुलाई मतदान गरि अध्यक्षमा निर्वाचित गर्ने वडाबासीलाई आभार प्रकट गर्दै पञ्च बर्षिय योजना बनाएर गाउँमा विकासका गतिविधि संचालन गर्ने बताउनुभयो ।

साना बजेटको काम प्रभावकारी नहुने भन्दै रोकाले सकेसम्म टुक्रे योजना तथा बजेटलाई कटौति गर्ने बताउनुभयो । अध्यक्ष रोकाले सार्वजनिक कार्यक्रममा खादा लगाई सम्मान गर्नुको साटो फुलको मालाको प्रयोग गर्न आव्हान गर्नुभएको छ ।

‘अहिले म वडा अध्यक्षमा विजयी हुँदा आफन्तजनले करिव ४० हजार बराबरको खादा लगाईदिनुभयो तर हाल त्यसको कुनैपनि उपयोग छैन, त्यसैले अव खादालाई पूर्ण रुपमा बन्देज गर्नुपर्छ’ अध्यक्ष रोकाले भन्नुभयो, “रकम बाहिर जाने खर्चलाई कटाई स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने योजनालाई कार्यान्वयन गर्नेछौँ ” ।

वडा भित्रका कुनै पनि सार्वजनिक कार्यक्रममा आयातित खादालाई बन्देज गरि स्थानीय फुलको माला लगाउने वडा अध्यक्ष रोका सहितको जनप्रतिनिधिको निर्णयलाई कुँहुबासीले स्वागत गरेका छन ।कार्यक्रममा भूपु गाविस उपाध्यक्ष धनलाल रोका, बम बहादुर रोका, दिपशिखा माविका प्रअ नन्द बहादुर खत्री, माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार पृथीलाल विक लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा २०७४ सालमा निर्वाचित वडा अध्यक्ष राम्जाली सहितका जनप्रतिनिधिहरुलाई विदाई समेत गरिएको छ ।

You can share this post!

अन्नपूर्णमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गयो

बालमन्दिर आधारभूत विद्यालयद्वारा जनप्रतिनिधिलाई बधाइज्ञापन तथा स्वागत

Related posts