म्याग्दी । यहि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ ।
स्थानीय तह निर्वाचनमा जिल्लाभर रहेका ११४ वटा मतदान स्थलमा निर्वाचन सफल बनाउन खटिने मतदान र सहायक मतदान अधिकृत गरि करिव २४० जनालाई प्रशिक्षण दिईएको हो ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजना, मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरुको सहजीकरणमा शनिबार र आइतवार दुईदिन सम्म बेनी सामुदायिक माविमा तालिम संचालन गरिएको हो । तालिमा मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेल, अधिकृतहरु तेज प्रसाद पौडेल, गोविन्द उपाध्याय, धर्म पौडेल, जानुका सुवेदी लगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणको क्रममा मतदान स्थल बनाउने, मतपेटिका खोल्ने, शिलवन्दी गर्ने, कानूनी व्यवस्था, सुरक्षाको प्रवन्ध, मतदान व्यवस्थापन लगायतका बिषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, प्रहरी नायव उपरिक्षक तिलक भारती, जिल्ला निर्वाचन अधिकारी भिम प्रसाद घिमिरेले पनि मतदान अधिकृत र सहायक मतदान अधिकृतको कार्य तथा जिम्मेवारीका बिषयमा जानकारी गराउनुभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिनुभयो ।
निर्वाचनका लागि मतदान र सहायक मतदान अधिकृत बैशाख २६ गते आवश्यक सामग्री बुझि २७ गते दिउँसो सम्म आफ्नो टिम सहित सवै मतदान स्थलमा पुगीसक्ने गरि तालिका तयार गरिएको छ । निर्वाचनमा लागि आवश्यक सुरक्षाको प्रवन्ध गरिसकिएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताउनुभयो । एक मतदान स्थलमा ८ देखि १८ जना सम्मको प्रहरी परिचालन गरिएको छ ।
मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी म्यादी सहित खटिने छ भने बाहिरी घेरामा सशस्त्र र नेपाली सेनाले गस्ति गर्ने प्रनाउ भारतीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरका ७४ मतदान केन्द्रलाई सुरक्षाका हिसावले सामान्य १०, संवेदनशिल ४९ र अति संवेदनशिल १५ गरि विभाजन गरिएको छ ।
यिनै तीन अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिने उहाँको भनाई छ । निर्वाचन कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । जिल्लामा आवश्यक मतपेटिका, मतपत्र लगायतका सामग्री आईसकेको छ । मतपत्रलाई शिलवन्दी गरेर तयारी अवस्थामा राखिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा ७४ मतदान केन्द्र र १ सय १४ वटा मतदान स्थल रहेका छन । जसका लागि १ सय १४ वटा मतदान अधिकृत, १ सय १४ वटा सहायक मतदान अधिकृत, २ सय १९ सहायक कर्मचारी र १ सय १४ सहयोगी कर्मचारी गरि ५ सय ६१ ज्ना कर्मचारी निर्वाचनमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी भिम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।