बेनीलाई चिनाएको ‘बेनीको बजार गीत’

अमित विश्वकर्मा, म्याग्दी । तिव्वतमा उत्पत्ति भएर मुस्ताङ हुँदै कागवेनीमा काख खोला र मुस्ताङ खोला मिसिएर बनेको कालीगण्डकी नदि र धौलागिरी हिमालबाट उत्पत्ति भई गण्डकी नदिमा मिसिने म्याग्दी नदिको संगम बेनी एक ऐतिहासिक स्थल हो । प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ बेनी । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् ।

विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । म्याग्दीको प्रवेशद्वारका रुपमा समेत रहेको बेनी बजार सानो छ र चिटिक्क परेको पनि ।
बेनी बजारको विकास भएको त्यति धेरै भएको छैन तर यसको इतिहास भने बेग्लै छ ।

२०४० साल सम्म पनि पनि भोट देखि मुस्ताङ हुँदै भारत सम्म व्यापार गर्नेहरुले ट्रान्जित पोइन्टको रुपमा बेनीलाई बनाएको पाइन्छ । अर्कोतिर स्याङजाको पुतलीबजार पुगेर खाद्य तथा नुन बोकेर लिई बेनीबाट विक्रि वितरण गर्ने व्यवस्था थियो त्यतिवेला । बेनीमा पातलो वस्ति थियो, खेतीयोग्य जमिन थिए, कतिपय ठाउँहरु खोरिया थिए, तर अहिले बेनीमा घरहरु भरिएका छन । खाली ठाउँ भेटाउन मुस्किल नै बनेको छ । १÷२ वटा मात्रै परम्परा झल्काउने पुराना घरहरु देखिन्छन ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । अति महँगो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । ठुला लगानीका व्यवस्थित शैक्षिक संस्थाहरु संचालनमा छन ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटलहरु निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था बढेका छन् । वार्षिक ४ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटेल र यातायात क्षेत्रमा यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् ।

विकसित बेनी बजारलाई देश विदेशमा चिनाउने माध्यम भने एउटा गीत बनेको छ । ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ ।
हालको रघुगंगा गाउँपालिका वडा नम्वर ८ कुइनेखानीकी मन छन्त्यालले गाउनुभएको उक्त गीत विक्रम सम्वत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो । गायीका छन्त्यालका श्रीमान बेनी बजार निवासी कलाकार टिका बहादुर श्रेष्ठले रचना गर्नुभएको उक्त गीतनै बेनी बजारलाई चिनाउने कोसेढुङगा सवित भयो भन्दा अतियुक्ति नहोला ।

२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा तत्कालिन राजा महेन्द्र विरविक्रम शाहको निमन्त्रणमा पहिलो पटक ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत प्रत्यक्ष बाद्यवादनमा श्रेष्ठ र गायीका छन्त्यालले युगल गाउनुभएको थियो । कार्यक्रममा नेपालका तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई पछिपार्दै आफुहरुले गाउको बेनीको बजार’ बोलको गीत प्रथम भएको स्मरण गर्नुहुन्छ गायीका छन्त्याल ।

खुर्सानी लुरुरु, सम्झी सम्झी रुन्छ मन धुरुरु, किरेमिरे जाले रुमाल, बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल, रचनाकार श्रेष्ठले विहे गरेर माईती घर छोडेको चेलीले आफ्नो आमा र माइती घर आगन सम्झिदा उत्पन्न भएको भावनालाई गीतमा व्यक्त गर्नुभएको थियो । गीत रेकर्ड गरेर रेडियो नेपालबाट बज्न थालेपछि उक्त गीत लोकप्रीय बन्दै गयो । गीतले चर्चा पनि पाउँदै गयो ।

गीतका श्रष्टा श्रेष्ठको वि.स २०७७ साल चैत्र महिनामा ७५ वर्षको उमेरमा निधन भइसकेको छ । हाल उमेरले ७३ वर्ष पुग्नुभएकी गायीका छन्त्याल बेनीको बजार गीत र बेनी बजार एक अर्काका परिपुरक जस्तै बनेको सुनाउनुहुन्छ । हाल वुटवल उपमहानगरपालिका १२ मा बसोबास गर्नुहुने गायीका छन्त्यालसंग फोनमा कुराकानी गर्दै गीतको बारेमा केही जानकारी लिन खोज्दा भावुक हुँदै भन्नुभयो, “त्यो त अब हाम्रो मात्रै होइन, जिल्लाकै सम्पत्ति बन्यो नी”

२०५० सालदेखि मालढुङ्गा बेनीको सडक निर्माण सुरु भयो । २०५३ सम्म बेनी बजार सडक संजालले जोडिएपछि बल्ल बेनीको विकास सुरुभयो । २०४५ सालमा केन्द्रिय प्रसारण लाईन जोडिएर विजुली वत्ती बलेको बेनी बजारमा ५० को दशकबाट विद्युत, यातायात र संचारको विकास संगै परिवर्तन हुँदै आएको बेनी बजारले पछिल्लो ३० बर्षको अन्तरालमा काँचुली नै फेरेको छ ।

बेनी बजार परिवर्तन भएजस्तै बेनी बजार चिनाउने गीत पनि परिवर्तन हुँदै गएको छ । रेडियो नेपालमा आधिकारिक रेकर्ड भएको ३४ वर्षपछि २०६५ सालमा उक्त गीतलाई वाराही क्यासेट सेन्टरको संयोजनमा नयाँ भर्सनमा रिरेकर्ड गरियो । नेपाली लोक दोहोरीको क्षेत्रमा तत्कालिन समयका दुई लोकप्रीय कलाकार राजु परियार र विमा कुमारी दुराको आवाजमा ओर्जिनल गीतको भाकालाई केही परिमार्जित गर्दै बजारमा भिडियो सहित ल्याईएको गीतमा प्रेम वराल र टिका बहादुर श्रेष्ठले लय तथा शव्दलाई नयाँपनका साथ सृजना गर्नुभएको थियो ।

उक्त गीत बजारमा आउँदा नेपालमा प्रविधिको विकास भईसकेको थियो । गीतको म्युजिक भिडियो र अडियो समेत विभिन्न डिजिटल माध्यमबाट देश तथा विदेशमा रहेका नेपालीहरुले सुन्न पाएपछि गीतको चर्चा, परिचर्चा संगै बेनी बजारको पनि लोकप्रीयता बढ्दै गएको बेनीका अग्रज साहित्यकार तथा कलाकार अजय मिलन श्रेष्ठ बताउनुहुन्छ ।

आफु जिल्ला बाहिरका नयाँ ठाउँहरुमा पुगेर घर बेनी हो भन्दा वित्तिकै बेनीको बजार गीत छ नि त्यही ठाउँ हैन त भन्दै गीत सम्झिनेहरु धेरै भेटेको उहाँको भनाई छ । गीत सुनेरै बेनी बजार घुम्न आउनेहरु पनि धेरै छन, बेनीको प्रचार गर्ने महत्वपूर्ण माध्यम यहि गीत बनेको छ, साहित्यकार श्रेष्ठ थप्नुहुन्छ, साँच्ची भन्नुपर्दा बेनी चिनाएको त ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल यो गीतले नै हो’ ।

त्यसपछि २०६७÷०६८ तिर प्रदर्शन भएको चलचित्र कोही मेरो मा पनि बेनीको बजार गीतलाई समावेश गरिएको थियो । आर्यान सिग्देल र सञ्चिता लुइटेल अभिनित उक्त फिल्ममा समावेश भएको गीत पनि निकै चर्चामा रहेको थियो । त्यतिबेलै बेनीको बजार गीतलाई लक्ष्मण पौडेल र कल्पना देवकोटाले रिमिक्स भर्सनमा रेकर्ड गरेर म्युजिक नेपालबाट भिडियो सहित सार्वजनिक गर्नुभएको छ । यस विचमा बेनी बजारलाई छोएर म्याग्दीका अग्रज तथा नवोदित अन्य कलाकारहरुले पनि गीत प्रस्तुत गर्नुभएको छ ।

जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त बहुचर्चित गीतलाई हालै मात्र पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो समेत बेनीमै छायाँकन गरिएको छ । युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा ल्याउन लागेको जनाएको छ । गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलन समेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गर्न लागिएको जिल्लास्थित जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । पुनःनिर्माण गर्न लागिएको गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

बेनीको बजार गीत मौलिक लोक भाका र सरल शव्दमा रहेकाले पनि संगीतप्रेमीहरुको मन मनमा वस्न सफल भएको छ । गीत जनजिव्रोमा झुन्डिन सफल भएकाले पनि सर्वप्रीय बनेको हो । कुनै विशेष ठाउँको प्रचार, पहिचान तथा त्यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि संगीतको अहम भूमिका हुने संचारकर्मी एवम् लोक सर्जक प्रकाश पौडेल बताउनुहुन्छ ।

एकपटक पनि बेनी नआएकाहरुलाई यहि गीतले बेनी जाउँजाउँ बनाएको छ र नयाँ ठाउँमा जाँदा बेनी चिनाउने माध्यम पनि यहि गीत बनेको छ त्यसैले यो गीत त समग्र म्याग्दीकै साँस्कृतिक सम्पत्ति हो । म्याग्दीका अग्रज लोक गायीका धनकमारी थापा भन्नुहुन्छ, ‘बेनीको बजार गीत लोक प्रीय बनेपछि बेनी बजार पनि लोकप्रीय बनेको छ, यहि गीत चर्चित भनेपछि बेनी बजार पनि चर्चित बनेको छ’ ।

म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक टिकाबहादुर श्रेष्ठ र गायिका मन छन्त्याल श्रेष्ठको तस्विर र गीतका शव्दहरु विरेन्द्रचोक स्थित ८० बर्ष पूरानो पिपलको चौतारीमा कोरिएको छ । लोकप्रीय सर्जकहरुको सम्मान गर्दै नयाँ पुस्तालाई समेत गीतको बारेमा जानकारी दिने उद्देश्यका साथ तस्विर र गीत भित्तेलखन गरिएको विरेनद्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुहुन्छ ।

 

You can share this post!

पाखापानीमा जनजातिहरुको नेतृत्व विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम

कला, संस्कृति संरक्षणमा बेनी नगरपालिका

Related posts