नेपाली कांग्रेसका तर्फबाट रघुगंगा गाउँपालिका म्याग्दीमा अध्यक्षका उम्मेदवार भव बहादुर भण्डारीका विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । निर्वाचन कार्यालयको तालिका अनुसार मंगलबार उम्मेदवार बिरुद्ध दावी विरोध गर्ने पाउने समय थियो ।
स्थानीयवाट गाउँपालिकाका लागि भनेर प्राप्त भएको जग्गा केही गाउँपालिकाका नाममा राखेर अन्य जग्गा आफ्नो नाममा दर्ता गराएको गाउँपालिकाका लागि जग्गा व्यवस्थापन गर्न विनियोजन भएको रकमबाट आफ्नो नाममा रहेको जग्गा व्यवस्थापन गरेको लगायतका आरोप लगाउदै भण्डारी विरुद्ध निर्वाचन कार्यालयमा उजुुरी दर्ता भएको हो ।
नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार प्रेम बहादुर कार्की (दिपक विखर्ची) र अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सागर भण्डारीले मंगलवार उजुरी दर्ता गराएको रघुगंगा गाउँपालिका निर्वाचन कार्यालयका अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाको रकम व्यक्तिको नाममा खर्च गरेको भन्दै अध्यक्ष पदका २ जना उम्मेदवारले उजुरी दिएको र निर्वाचन कार्यालयले यस विषयमा अध्यक्षका उम्मेदवार भण्डारीलाई आजै पत्राचार गर्ने र उहाँबाट प्राप्त जवाफ माथि छानविन गर्ने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।
दाताहरुले निशुल्क रुपमा दिएको जग्गा गाउँपालिकाका नाममा ८ रोपनी र जग्गादाताहरुलाई १२ रोपनी फिर्ता गर्नु पर्नेमा गाउँपालिकाका अध्यक्ष भण्डारीले ५ रोपनी गाँउपालिकाका नाममा राखी अरु जग्गा अझैसम्म आफ्नै नाममा राखेको र पालिकाबाट लगेको रकमले पनि आफ्नो नाममा रहेको जग्गा व्यवस्थापनका लागि खर्च गरेको पाईएकोले दाबी बिरोध स्वरुप उजुरी गरिएको उजुरीकर्ता नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार दिपक कार्कीले बताउनुभयो । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा नेपाली काँग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार एवम् नि.गाउँपालिका अध्यक्ष भण्डारीको मोवाईलमा सम्पर्क हुन सकेन ।