म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आईतवार नेपाली काँग्रेसले म्याग्दीको मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । मालिका गाउँपालिकामा अध्यक्ष पदमा श्रीप्रसाद रोका र उपाध्यक्षमा पिपला बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । मालिकाको वडा नम्बर १ मा टंकप्रसाद पुन,२ मा ताराबहादुर रोका,३ श्यामबहादुर बुढाथोकी, ४ मा भेजेन्द्रमान पुन,५ मा मिम पुन, ६ मा खिमबहादुर पुनमगर र ७ मा लपकुमार पुनले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजाले मनोनयन दर्ता गर्नुभएको छ । वडा नम्बर १ मा भविन्द्र गर्बुजा,२ मा खेरीराम पुर्जा,३ मा सुरत केसी,४ मा लोकबहादुर फगामी,५ मा राजेश तिलिजा पुन,६मा रामबहादुर खड्का,७मा गमबहादुर फगामी पुन र ८ मा रविन गर्बुजाले उम्मेदवारी दर्ता गर्नुभएको नेपाली काँँग्रेसका जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो ।
स्थानीय तहमा रहेका निर्वाचन अधिकृतहरुको कार्यालयमा मनोनयन दर्ता भएकाहरुको विवरण रुजु गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । नेकपा एमाले र माओवादी केन्द्रले कुनै पनि स्थानीय तहमा पहिलो दिन उम्मेदवारी दर्ता गराएका छैनन् । केही स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएको छ ।