म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न बनाउनका लागि म्याग्दीको मंगला गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
पालिकाको केन्द्र बाबियाचौरमा वोर्ड राखेर स्थापना गरिएको कार्यालयको बिहिबार निर्वाचन अधिकृत धर्मराज पौडेलले उद्घाटन गर्नुभएको हो ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता देखि लिएर मतगणना सम्मका सम्पूर्ण गतिविधि संचालन गरि निर्वाचनलाई मर्यादित तरिकाले सम्पन्न पार्नका लागि कार्यालय स्थापना गरिएको हो ।
बिहिबारै मंगलामा रहेका सवै दलहरुको उपस्थितिमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा सहभागी सवै दलहरुले निर्वाचनमा आचारसंहिताको पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन ।
उम्मेदवारी दर्ता गर्न आउँदा एउटा दलबाट बढिमा ८१ जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत समेत रहनुभएका मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । ८ वटा मतदान स्थल र १७ वटा मनदान केन्द्र रहेको मंगला गाउँपालिकाका ५ वटा वडामा १३ हजार ४ सय १६ जना मतादाता रहेका छन ।