म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार चयन गरेको छ । बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले बुढाथोकीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको काँग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो ।
गाउँपालिका समितिले अध्यक्षको उम्मेदवारमा जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुस्कर पुनको नाम सिफारिस गरेको थियो । पालिकाबाट नाम सिफारिस भएका तीनै जना आकाँक्षी, वडा सभापति र वडा अध्यक्षका उम्मेदवारहरुलाई सँगै राखेर छलफल गर्दा बुढाथोकीलाई पालिका अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको पुनले बताउनुभयो ।
उपाध्यक्ष र २ नम्बर वडाका अध्यक्षका उम्मेदवार छनोट बाँकी रहेको छ । नेपाली काँग्रेसको मंगला गाउँपालिका कार्यसमितिका सचिव बुढाथोकी काँग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघको गाउँपालिका अध्यक्ष हुनुहुन्छ । काँग्रेसले १ नम्बर वडामा रविन पुन, ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र ५ मा बलबहादुर खड्कालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव पुनले बताउनुभयो ।
एमालेले मंगलाको अध्यक्षमा अहिलेका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याएर उम्मेदवार बनाएको छ । माओवादीले पनि मंगलाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष र सदस्यहरुका उम्मेदवार घोषणाको तयारीमा रहेको जनाएको छ ।