दुरलेक पर्यटकको पखाईमा

म्याग्दी । म्याग्दीको प्रचुर पर्यटकीय सम्भावना वोकेको दुरलेक ओझेलमा परेको छ । जिल्लाको मालिका गाउँपालिका– वडा नम्वर २, अवस्थित दुरलेक प्रचारपसारको अभावमा ओझेलमा परेको हो । समुन्द्री सतहदेखि तीन हजार ४८४ मिटरको उचाईमा अवस्थित छ ।
अग्लो डाँडा, वरिपरि ढकमक्कै गुँरास सहितका जंगलहरु र विभिन्न प्रजातिका फूलहरुले दुरलेकलाई सुन्दर बनाएको छ । गुर्जा, धवलागिरी, अन्नपूर्ण, मानापाथी, चुरेन, माछापुच्छे् लगायतका हिमश्रृङलाहरुको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकको सजिलै मन लोभ्याउने गर्छ ।

 

दुरलेकबाट सूर्योदय र सुर्यास्तको सुन्दर दृश्य नजिकैबाट अवलोकन गर्न सकिन्छ । त्यहाँबाट लग्ला डाँडाकाँडाहरु सहित म्याग्दी र बागलुङका करिव दुई दर्जन गाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ । दुरलेक क्षेत्रका जंगलमा लालीगुँरास, चेमाली, राप्पा लगायत विभिन्न प्रजातिका गुँरासहरु संग रमाउन पाईन्छ । त्यहाँ पाँचऔँले, सतुवा, लसुनेसाग, जस्ता बहुमूल्य जडिबुटि समेत रहेको छ ।

धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको दुरलेकमा मन्दिर निर्माण गरिएको छ । बि.स.२०५५ सालमा बागलुङको ताराखोला गाउँपालिका वडा नम्वर ५ सिपका तिल प्रसाद आचार्य (जैसी माईला) ले नौ छोरीको जन्म भएपछि छोरा जन्माउने आशामा उक्त ठाउँमा गई भाकल गर्नुभएको थियो । भाकलपछिे छोरा जन्म भएपछि उहाँले नै मन्दिरको स्थापना गर्नुभएको हो । जैसी माईलाका कान्छा छोरा नविन आचार्य अहिले मन्दिरको पुजारी समेत हुनुहुन्छ ।

यहाँ नयाँ बर्षको अवसरमा विशेष पुजाआजा हुने गर्दछ । यहाँ पुजाआजा गर्दा मनोकाँक्षा पुरा हुने जनविश्वास छ । शिवालयमा म्याग्दी र बागलुङका विभिन्न ठाउँहरुबाट पुजाआजा गर्न भक्तजनहरु पुग्ने गरेका छन् । दुरलेकमा मठ्ठा नचाउने भिर पनि आकर्षणको रुपमा रहेको छ । त्यसभिरमा उभिएर वारी गाउँका युवाहरुले पारी गाउँका युवतिहरुलाई रुमाल हल्लाएर भेट्न बोलाउने गर्दथे ।
रुमको घ्याङलेपानी देखि करिव ५ घण्टाको पैदल यात्रामा रहेको दुरलेकको सुन्दरताले पर्यटकको मन आनन्दित बनाउने नयाँ बर्षमा त्यहाँ पुगेका स्थानीय युवा चोकेन पुन मगरले बताउनुभयो ।

म्याग्दीको रुम र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको दुरलेकमा बर्षातको समयमा दुवै जिल्लाका किसानहरुले गाईवस्तुका गोठ लिएर जाने गर्दछन । प्रसस्त चरणक्षेत्र भएकाले जेठ महिना देखि साउन सम्म गोठ त्यतै राख्ने गर्दछन ।
त्यसक्षेत्रमा पाईने घाँसमा विभिन्न जडिवुटि मिसिएकाले गाईभैसीले दुध धेरै दिने हुँनाले दुरलेकलाई दुधलेक पनि भन्ने गरिन्छ । दुरलेकको पर्यटक प्रवद्र्धन गर्नका लागि हाल पदमार्ग सहित पूर्वाधार निर्माण गरिएको छ ।

दुरलेक शिवालय मन्दिर देखि उच्च स्थान झन्डी सम्म पुग्ने करिव २ किलोमिटरको पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष नर बहादुर पुनले बताउनुभयो । पदमार्ग निर्माणका लागि गण्डकी प्रदेशको तत्कालिन सामाजिक विकास मन्त्री नरदेवि पुन मगरको पहलमा आर्थिक वर्ष २०७७ -०७८ मा रु २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

त्यसैगरि सामाजिक विकास मन्त्रालयकै रु १० लाख सहयोगमा दुरलेकमा पर्यटकको सहजताका लागि आश्रयस्थल भवन पनि निर्माण गरिएको छ । दुरलेक पुग्नका लागि मालिकाको वडा नं २ रुमको घ्याङलेपानी सम्म सडक सुविधा पुगेको छ । त्यहाँदेखि ५ घण्टाको घना जंगलको उकालो बाटो पैदलयात्रा गरेपछि दुरलेक पुग्न सकिन्छ ।

दुरलेकलाई पर्यटकीय स्थल बनाउनका लागि आवश्यक पुर्वाधार निर्माणमा जुटेको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । घ्याङलेपानीबाट दुरलेक पुग्नका लागि मोटरबाटोको ट्रयाक खोल्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।
गाउँपालिकाले दुरलेकको विशेषता र महत्वको बारेमा प्रचारप्रसार गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै पूर्वाधार निर्माणलाई जोड दिएको अध्यक्ष रोकाको भनाई छ ।

You can share this post!

तालमेलका लागि कुनैदल संग औपचारिक छलफल भएको छैनः एमाले म्याग्दी

माओवादीद्वारा बेनीको मेयर र उपमेयरको उम्मेदवार सिफारिस

Related posts