नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा जेब्रा क्रसिङ बनाउन थालेको छ ।
एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधार तर्फ समेत सम्बन्धित निकायले ध्यान नदिएपछि विप्लवका नेताकार्यकर्ताले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति अगाडी जेब्रा क्रसिङ बनाएर रचनात्मक काम सुरु गरेको हो ।
नेकपा म्याग्दीकी दिपा, उषा लगायतका नेता, कार्यकर्ताको उपस्थिती तथा जनवर्गीय संगठनहरुको सक्रियतामा बिरेन्द्रचोकबाट सुरु गरिएको जेब्रा क्रसिङ सदरमुकामभित्र आवश्यक पर्ने स्थानमा बनाउने नेकपाले जनाएको छ ।
यसअगाडी नगरपालिका अन्तरगत वडाले जेब्रा क्रसिङ बनाएपनि कमै प्रयोग भइरहेको थियो । हाल उक्त जेब्रा क्रसिङ मेटिदै जान थालेको छ । बाटो काट्दा जेब्रा क्रसिङ प्रयोग अनिवार्य मानिन्छ ।
भिडभाड हुने सार्वजनिक स्थान, स्कुल, मन्दिर लगायतका महत्वपूर्ण क्षेत्र आसपासमा सवारीको चाप नियन्त्रण गर्न जेब्रा क्रसिङ बनाइन्छ । बेनीबजारमा एकतर्फी कार्यान्वयनमै विवाद भएका कारण अति आवश्यक मानिएका काम समेत हुन सकेको छैन् ।
जेब्रा क्रसिङ निर्माण गर्नका लागि ट्राफिक प्रहरीले सेमत सघाएका छन । नेकपाले बजारभित्रको खाल्टाखुल्टी समेत पुर्ने योजना बनाएको बताएको छ ।