म्याग्दीका लोकप्रीय लोक तथा दोहोरी गायक रवि कार्कीको नयाँ लोक दोहोरी गीत साईली सलक्कै बजारमा आएको छ । मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडियो विहिबार रवि कार्कीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक कार्की र पछिल्लो समयकी चर्चित लोक दोहोरी गायीका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको गीतको म्युजिक एरेन्ज आशिष अविरलले गर्नुभएको हो भने स्टुडियो रागमा अडियो रेकर्ड तथा सम्पादन गरिएको हो ।
मौसम हिमालीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । गीत मौलिक भएकाले भिडियो पनि मौलिकपनमै तयार गरिएको छ ।
गण्डक क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शव्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक रवि कार्कीले बताउनुभयो । उहाँका अनुसार गीतले मौलिकतालाई संरक्षण र सम्वद्र्धन गर्नमा टेवा पु¥याउने छ ।
म्याग्दी भिरमुनी घरभई हाल जापानमा रहनुभएका लोकप्रीय सर्जक प्रविण खत्री ठूलेले गीतको शव्द सृजना गर्नुभएको छ । साईली सलक्कै भाका आफु सानै छदा स्थानीयहरुले गायको सुनेको तर यो गीत कस्ले सृजना गरेको हो भन्न थाहा नभएको सर्जक खत्रीले बताउनुभयो ।
जनजिव्रोमा प्रचलित रहेका भाकालाई लोप हुन नदिने उद्देश्य अनुरुप गीत बजारमा ल्याइएको हो । गायक कार्की जिल्लामै रहेर राष्ट्रिय स्तरको कलाकारको पहिचान बनाउन सफल हुनुभएको छ ।
उहाँले गायको जाम सुस्तै बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरको छ भने माया के रैछ, बेनी बजार झर मायालु, गलेश्वरको दर्शन लोक भजन लगाएतका गीतहरु चर्चामा रहेका छन ।
यस अघिका गीतहरुले जस्तै साईली सलक्कैले पनि सवै श्रोता दर्शकको अथाह माया पाउने अपेक्षा गर्नुभएका गायक कार्कीले आफु निरन्तर गीत संगीतमै रहने बताउनुभएको छ ।
गरेपनि मायाले स्पर्श
आयु वढे झै हुन्छ विस बर्ष
साईली सलक्कै, देखे गाल पर्ला बस अलग्कै