काँग्रेसको बेनी नगर सभापतिमा रविन्द्र कार्की नेतृत्वको प्यानल घोषणा

म्याग्दी, ८ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोली शनिबार हुने बेनी नगर अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनपा ९ घतान निवासी कार्कीले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय रहनुभएका नगरसभापतिमा उम्मेदवार बन्नुभएका युवा नेता कार्कीको प्यानलबाट उपसभापतिमा गंगाबहादुर खत्री र मनोजकुमार कार्की, सचिबमा झलक जिसी र संगीता श्रेष्ठ, सहसचिबमा पुष्पा कार्की महत र संगम कुमार विक उम्मेदवार बन्नुभएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सभापतिका उम्मेदवार कार्कीले आफुहरुले कुनै गुटको नेताहरुको आडमा नभई अग्रजको सम्मान र युवाहरुको प्रोत्साहनको लागि उम्मेदवारी दिएको बताउनुभयो । यद्यपी कार्कीको नेतृत्वको प्यानलाई काँग्रेस जिल्ला सभापति खमविर गर्वुजा पक्षको समर्थन रहेको छ ।

सभापतिका उम्मेदवार कार्कीले विवेकशिल, वैचारिक र सुदृढ काँग्रेसका लागि अग्रजको अनुभव र युवाहरुको संकल्प जरुरी रहेकाले पार्टीमा देखिएको गुटबन्दीबाट माथि उठेर प्यानल बनाइएको बताउनुभयो । ‘‘ पार्टीमा तिब्र गुटबन्दी भएको छ, त्यसको अन्त्य गरि सबल र सुदृढ काँग्रेस बनाउन जरुरी छ, भाषण र बोलीमा सिमित नरहेर व्यवहारमा पार्टीको आन्तरिक सुदृढिकरण आबश्यक रहेकाले हामी नेतृत्वको लागि तयार भएका हौँ’’– उहाँले भन्नुभयो ।

दुई दिन अगाडि सभापति पदका उम्मेदवार तथा युवा नेता विक्रम बोगटीले पनि प्यानल घोषणा गर्नुभएको थियो । कार्कीलाई सभापति खम्बिर गर्बुजाको साथ छ भने बोगटीलाई पूर्व सभापति रेशम बानियाँको साथ रहेको छ । दुवै पक्ष विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

You can share this post!

अनेरास्ववियु योद्धाहरु उत्पादन गर्ने थलो होः नेता पौडेल

म्याग्दीको पिप्लेमा ९९ सदस्यीय युवा संघ र ४५ सदस्यीय युथ फोर्स गठन

Related posts