म्याग्दीको बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीले विभिन्न माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बेनी नगरपालिका–८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयमा पढाउने बिर्सना चोखालको नेतृत्वमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिका सचिव गणेश परियार लगायत पदाधिकारीहरुले सोमबार संघिय सरकारले घोषणा गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै नगर प्रमुख हरिकुमार श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र शिक्षा अधिकृत अर्जुन पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
संघीय सरकारले तोकेअनुसार साउन महिनादेखि यता आफुहरुले न्युनतम पारिश्रमीक नपाएकोले ज्ञापनपत्र बुझाउन बाध्य भएको विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिकी अध्यक्ष चोखालले बताउनुभयो । नगरपालिकाले संघीय सरकारले तोकेअनुसार ईसीडी शिक्षक र कर्मचारीलाई ७ हजार थपेर उपलब्ध गराउनुपर्ने उहाँको माग छ । ‘पहिलो चरणमा ध्यानाकर्षण स्वरुप नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छौं । यसरी माग पुरा नभए हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौ ,’उहाँले भन्नुभयो, ‘बजेटअनुसार ईसीडी शिक्षक र विद्यालय कर्मचारीले साउनदेखि मासिक १५ हजार पारिश्रमिक पाउनुपर्छ ।’
सरकारले ईसीडी शिक्षकलाई हालसम्म मासिक ६ हजारमात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरेको थियो तर संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख थियो ।
नगर प्रमुख हरिकुमार श्रेष्ठले बालविकास सहजकर्ता र कर्मचारीको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटमा स्थानीय तहले संघिय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानमा वृद्धि नभएको र संघले स्पष्ट कार्यविधि सहितको निर्देशन समेत नदिएकाले ढिलाई भएको बताउनुभयो । उहाँले संघिय सरकारले बजेट नपठाएपनि नगरपालिकाले आन्तरिक श्रोतबाट भएपनि शिक्षक र कर्मचारीलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने बताउनुभयो ।