म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिले म्याग्दीको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विश्व संगीतको दिवस अवसर पारी प्रतिष्ठानले मंगला गाउँपालिका वडा नम्वर २ सल्यानमा संचालन गरेको आँखा शिविरमा १ सय ७३ जनाले सेवा लिएका छन ।
मनकामना आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोग, सल्लेरी सल्यान सामुदायिक वन उपभोक्ता समिति र मंगला युथ क्लव बाबियाचौरको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा आँखाका रोगीहरुलाई औसधि तथा चस्मा प्रदान गरिएको थियो । आँखामा गम्भिर समस्या भएकाहरुलाई थप जाँचका लागि बेनी या पोखरा जान परामर्श गरिएको छ भने आँखा सुरक्षित राख्न सचेत समेत गराईएको छ ।
सल्यान स्थित विकास आधारभूत विद्यालयको प्राङगणमा संचालन भएको शिविरमा सल्यान, भाइवाङ, पैयुपाटा, लेरनी, खुम्लिया, कोटडाँडा, भरजुला, धुनमारे, ¥यालेखोर लगायतका गाउँका आँखा रोगीहरुले सेवा लिएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले जानकारी दिनुभयो ।
अध्यक्ष जिसीले गीत संगीतका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउदै विश्व संगीत दिवस पनि मानविय सेवामुलक कार्य गरेर मनाएको अवगत गराउनुभयो ।
सल्यानका ८१ वर्षीय लाल बहादुर गुरुङ र ७६ वर्षिय हरि नेपालीले घरदैलोमै आँखा जाँच गराउन पाउँदा खुसि लागेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, मंगला युथ क्लवका अध्यक्ष नविन अधिकारी, वासुरी वादक दिनेश पुन लगायत प्रतिष्ठान म्याग्दीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीको अध्यक्षता र सचिव विजुन केसीको संचालनमा सम्पन्न भएको थियो । शिविर संचालनमा सहयोग गर्ने संघ, संस्था तथा व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।