गैरसरकारी संस्था महासंघ म्याग्दीमा पुनः पौडेल

म्याग्दी । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन हुनुभएको छ । आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसैगरी महासंंघको उपाध्यक्षमा निरमाया मिजार, सचिवमा कमला बानियाँ थापा, सहसचिवमा खुमबहादुर किसान र कोषाध्यक्षमा भीमबहादुर रिजाल निर्वाचित भएका छन् । भने कार्यसमिति सदस्यहरुमा गौरी थापा, शर्मिला पुन, नम्रता पौडेल खत्री, मुक्तमान केसी, विष्णु गुरुङ र भीमबहादुर गुरुङ निर्वाचित भएको महासंघ म्याग्दी शाखाले जनाएको छ ।

नवनिर्वाचित गैसस महासंघ जिल्ला शाखाको पदाधिकारी तथा सदस्यहरुलाई गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलले शपथग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, सचिव भवराज रेग्मी र गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै जिल्लामा गैरसरकारी संघसंस्थालाई सक्रिय बनाउन र समुदायमा सचेतनामूलक गतिविधिहरु सञ्चालनमा जोड गर्न सुझाव र निर्देशन दिएका छन् ।

गैरसरकारी संस्था महासंघ म्याग्दीका निवर्तमान सचिव निरमाया मिजारले सञ्चालन गरेको कार्यक्रममा गैसस महासंघ म्याग्दीका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल, मंगला आमा समूहका अध्यक्ष टकसरा राना लगायतको विशेष उपस्थिति रहेको थियो । यसअघि अधिवेशनको गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष सुवेदीले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष सुवेदीले सामाजिक परिचालनको काम गैरसरकारी संघसंस्थाहरुले मात्रै गर्न सक्ने दावी गर्नुभयो । उहाँले स्थानीय पालिकाहरुमा संघसंस्थाहरुलाई दर्ता र नवीकरण निःशुल्क बनाउनुपर्ने माग गर्दै संघसंस्थाहरुलाई बजेट तथा कार्यक्रमहरु दिएर पालिकाले सामाजिक परिचालनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा संविधानसभा सदस्यद्वय गोविन्द पौडेल र रेशमबहादुर बानियाँले गैरसरकारी संघसंस्थाका कार्यक्रमहरु पारदर्शी बनाउँदै समाज रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधि क्या. मिनबहादुर कार्की, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा, गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा गैरसरकारी संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षद्वय हरिप्रसाद पौडेल, भरत केसी, गण्डकी प्रदेश कोषाध्यक्ष मुक्तिप्रसाद ढुङ्गाना र महासंघ म्याग्दीका पूर्व कोषाध्यक्ष ज्योति लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासंघका निवर्तमान सचिव मिजारले प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको थियो । आगामी दिनमा गण्डकी प्रदेशमा नमुना संस्थाको रुपमा गैरसरकारी संस्था महासंघ म्याग्दीलाई अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनुभयो ।

 

You can share this post!

नयाँ शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक आईपुग्यो

हात्तीपाईले रोग नियन्त्रणमा जलजला उत्कृष्ट

Related posts