म्याग्दी । एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिक माविले जितेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो ।
पहिलो हाफको खेल गोलरहित बराबरी भएको थियो भने दोस्रो हाफको अन्त्यतिर बेनी सामुदायिकले लगातार दुई गोल गरेको थियो । प्रतियोगितामा विजेता बेनी सामुदायिकका खेलाडीहरुलाई नगद रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता बुद्ध एकेडेमिका खेलाडीहरुलाई नगद रु १० हजार ट्रफि मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । आधारभुत तहको कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बेनी नगरपालिका– ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँ, प्रिन्सीपल मोहन अधिकारी, युवा रेडक्रस सर्कलका सभापति भुमिराज नेपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले बिजेता र उपबिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा बेनी सामुदायिका सुगम पाईजा उत्कृष्ट खेलाडी, सामुदायिककै संस्कार किसान उत्कृष्ट गोलरक्षक, न्यू वेष्ट पोइन्टका रोजन पुन सर्वाधिक गोलकर्ता घोषित भएका छन ।
उत्कृष्ट मिडफिल्डरमा बुद्धका राज शेरपुञ्जा, उत्कृष्ट डिफेन्डरमा बुद्धकै अरुण शेरपुञ्जा, उत्कृष्ट स्ट्राइकरमा बुद्धकै प्रविन थापाले अवार्ड हात पारेका छन । राइजिङ प्लेयरमा लिटल गार्डेनका उज्वल केसी, अनुशासित टिममा मंगला मावि पुरस्कृत भएको छ भने उत्कृष्ट प्रशिक्षकमा सामुदायिकका प्रविण श्रेष्ठलाई अवार्डद्धारा पुरस्कृत गरिएको विद्यालयका शिक्षक विसाल खत्रीले जानकारी दिनुभयो ।