दरबाङ–धारापानी सडक स्तरोन्नतिले यात्रा सहज

म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका–७, धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।

यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक स्तरोन्नति भएपछि यात्रा सहज र सुरक्षित भएको बताउँछन् । पूर्वाधार विकास कार्यालय म्याग्दीका सुचना अधिकारी अर्जुन शर्माका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रपैयाँ बजेटबाट वहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नति गरिएको हो ।

सो सडक स्तरोन्नतिको लागि पूर्वाधार विकास कार्यालयले वि.सं.२०७६ चैत ४ गते धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले चालु आर्थिक वर्षको पुसमा सडक स्तरोन्नतिको काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक चौडा पार्ने, बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साँघुरा घुम्तीलाई चौडा पार्ने, मेसिनरी र ग्याविन वाल र ग्राभेल गरिएको सुचना अधिकारी शर्माले बताउनुभयो ।

नाली सहित ७ मिटर फराकिलो सडक बनाइएको छ । धवलागिरी गाउँपालिकाको केन्द्र मुनालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा दरबाङ–धारापानी सडक स्तरोन्नति गरिएको हो । सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने योजना छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग बागलुङको वैकल्पिक लोकमार्ग मानिएको बेनी–दरवाङ–मुना–गुर्जा–जलजला–ढोरपाटन सडक आयोजना अन्तर्गत पर्दछ ।

धवलागिरि गाउँपालिका–७, स्थित बादिका भीरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो । बादिकाको भीर जोखिमयुक्त सडक हो । “बादिकाको भीरमा साँघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो । स्तरोन्नति भएपछि अहिले धेरै सहज र सुरक्षित भएको छ,” धारापानीका स्थानीय तेजेन्द्र थापाले भन्नुभयो । बादिकाको आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको छ ।

बादिकाको अप्ठ्यारो भीरको उकालोमा करिब तीन सय मिटर सडक ढलान गरिएको छ । “सडक स्तरोन्नति भएपछि दुई गाउँपालिकाबासी सहित ढोरपाटन घुम्न जाने पर्यटकलाई समेत सहज हुनुका साथै यात्रा अवधि पनि छोटिएको छ,” धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो । सडक स्तरोन्नतिले ४५ मिनेटको यात्रा १५ मिनेटमा पुरा गर्न सकिन्छ । गोरखापत्र अनलाइनबाट

You can share this post!

बेनी बोर्डिङ कपको उपाधी आयोजकलाई

एसिसी वुमन्स प्रिमियर कपः हङकङविरुद्धको खेलमा नेपाल विजयी

Related posts