बेनी अस्पताल भवन निर्माणलाई गति दिन पहल गर्छुः काँग्रेस नेता पौडेल

म्याग्दी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अलपत्र परेको बेनी अस्पतालको भवन निर्माण कार्यलाई गति दिन पहल गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद कार्यक्रममा सहभागीहरुबाट उठेको प्रश्नहरुको जवाफ दिदै नेता पौडेलले अस्पताल भवनको अवलोकन गरि निर्माण कम्पनीलाई काममा फर्किन फोनमार्फत अनुरोध गरेको बताउनुभयो ।

‘म काठमाडौँ फर्किपछि म्याग्दी जिल्लाका सांसद खम्विर गर्वुजा संग मिलेर निर्माण व्यवसायीलाई भट्छौँ, काममा फर्किन आग्रह गछौँ, त्यसो गर्दा पनि भएन भने संसदमै पनि यो विषय उठाउँछौँ’, नेता पौडेलले भन्नुभयो ।

उहाँले बेनी–मालढुंगा सडक, बेनी–जोमसोम सडक लगायत ढिलासुस्तीले थलिएका आयोजनाहरुलाई गती दिलाउन आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

काँग्रेसका युवा नेता पौडेलले विकासले मात्रै नागरिकलाई सन्तुष्टि दिन नसक्ने बताउँदै सुशासन कायम गर्न आबश्यक रहेकोमा समेत जोड दिनुभयो ।

‘‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सुचाकाङ्कमा पनि बढ्यो, तर आज मुलुकमा यतिधेरै नागरिक निरास छन्, बाटो बनाएर, विद्यालय र अस्पतालको सख्ंया थपेर मात्रै नागरिक सन्तुष्ट बन्ने रहेनछन, नागरिकलाई सरकार र राज्यको व्यवहारले खुसी बनाउने रहेछ’’– नेता पौडेलले भन्नुभयो ।

मुलुकमा विकास र राज्यका सेवा पहुँचका आधारमा हुने प्रवृतिले नागरिकलाई समानुपातिक र समावेशी विकासको अनुभूति नदिएको उहाँको भनाई थियो ।

उहाँले विकास निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्ने व्यक्तिहरुलाई राजनीतिक संरक्षण दिन नहुने बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रमा देखिएको अस्तव्यस्तामा राज्यको भूमिका जनताले खोजीरहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र र अन्य व्यवस्था हुन नसक्ने दावि गर्दै जनताको अवस्था बदल्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।

नेता पौडेलले आगामी निर्वाचनमा काँग्रेसले चुनाव अघिको गठबन्धन नगर्ने स्पष्ट पार्दै जनताबाट आएका प्रश्न र सुझाबहरुकै आधारमा पार्टीको नीति ,योजना र एजेण्डालाई निर्माण गर्ने समेत जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सहभागीहरुले जिल्लाको समसामयिक बिषय, मुलुकको राजनीतिक अवस्था र काँग्रेस पार्टीभित्रको वैचारिक अन्तरद्धन्द्ध र मुलुकभित्र देखिएका आर्थिक, सामाजिक र राजनैतिक समस्याहरुप्रति प्रश्न, जिज्ञासा र सुझाब समेत राखेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले जनताको समस्या र गुनासा सुन्न पार्टीले समुदायमा काँग्रेस अभियान सञ्चालन गरेको बताउँदै यस अभियानले जनताको समस्यालाई पहिचान गरि समाधान गर्न र काँग्रेसलाई समुदायमा स्थापित गर्न सघाउने धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कार्यवहाक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता र सचिब भरतबहादुर रकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

You can share this post!

दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

गण्डकी प्रदेश सरकारबाट खेलकुद प्रशिक्षकमा तेजेन्द्र बानियाँ छनौट

Related posts