सुन्तला बिक्रीबाट बासखर्कमा ११ करोड भित्रियो, एकै ब्यक्तिले २७ लाखसम्म कमाए

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ ।

अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौँको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका व्यवसायी बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन् ।

कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान जगतबहादुर खत्रीले बताउनुभयो । बोटमा फल लामो समयसम्म राख्दा अर्को वर्ष कम उत्पादन हुने भएकाले माघभित्रै फल टिपेर लैजान व्यवसायीलाई किसानले आग्रह गरेका छन् ।

गत वर्ष १५ करोड भित्र्याएका यहाँका किसानले यस वर्ष भने उत्पादन घटेको बताएका छन् । यस वर्ष १० देखि ११ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको अगुवा किसान खत्रीले बताउनुभयो ।

गण्डकी प्रदेशकै स्वादिलो सुन्तला उत्पादन हुने वाँसखर्कमा ढिलोगरी सुन्तला पाक्ने भएकाले मूल्यसमेत महँगोमा बिक्री हुने गर्दछ । यहाँका किसानले गत वर्ष बोटबाटै प्रतिकेजी एक सय ७० मा बिक्री गरेका थिए भने यस वर्ष एक सय ८० रुपैयाँमा बिक्री गर्ने तयारी गरेका छन् ।

गत वर्ष सुन्तलाको फल लाग्ने बेला फागुन १५ गते परेको असिनापानीका कारण उत्पादन घटेको किसान खत्रीले बताउनुभयो। खत्रीले गत वर्ष सुन्तला बिक्रीबाट ३२ लाख आम्दानी गर्नुभएको थियो ।

उनका तीन सय बोटमा सुन्तला फल्ने गर्दछन् । त्यसैगरी भक्तबहादुर पाइजाले २२ लाख र अर्का किसान हेमकुमार अर्मजाले २७ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए ।

व्यावसायिकरूपमा सुन्तलाखेती गर्दै आएका यहाँका दुई सयभन्दा बढी परिवारले सुन्तलालाई मुख्य पेसा बनाएका छन् । स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्थामा आबद्ध किसानले मकै, कोदोलगायतका बालीनाली लगाउन छाडेर सुन्तलाखेती विस्तार गरेका छन् ।

सहकारीका अध्यक्षसमेत रहनुभएका किसान खत्रीले ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको बताउनुभयो । बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् ।

“यहाँका किसानले न्यूनतम रु पाँच लाखभन्दा थोरै कमाउने कुनै घरै छैनन्”, अध्यक्ष खत्रीले भन्नुभयो । सबैभन्दा बढी आम्दानी आफूले गर्ने गरेको उहाँको भनाई थियो । सुन्तलाकै कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उहाँका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत पाँच वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । तर बोटमै सन्तोषजनक मूल्य पाएपछि शीतभण्डारमा भण्डारण गर्न किसानले चासो देखाउँदैनन् । केही किसानले भेन ग्रेडिङ गरेर बाँकी रहेका सुन्तला शीतभण्डारमा राखेर बेसिजनमा बिक्री गर्ने गरेको स्थानीय कल्पना खत्रीले बताउनुभयो ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । यहाँका दुई सयभन्दा बढी परिवार सुन्तलाखेतीमा आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताउनुभयो । बाँसखर्कमा पनि गत वर्ष अत्यधिक फलेका कारण यस वर्ष केही कम भएको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको पौडेलले बताउनुभयो ।

You can share this post!

सर्वसम्मत रुपमा एमाले म्याग्दीको नेतृत्व चयन

घराम्दीमा चोयाका सामान बनाउने तालिम संचालन

Related posts