म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

म्याग्दी । बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् । गाउँका प्रत्येक घरले आलु खेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले १ सय रोपनी बढी खेतवारीमा आलु लगाएको समूहका बताउनुभयो ।

‘‘अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार पठाउने तयारी छ, बोट राम्रो भएकाले फल पनि राम्रो हुने आसा गरेका छौँ’’–कृषक खत्रीले भन्नुभयो । सिंगाको डाँडाखेत, फुर्केसल्ला, राक्से लगायतका बस्तीमा समेत हिउँदे आलुको व्यावसायिक खेती गरिएको छ । म्याग्दीमा खेती गरिने प्रमुख बालीहरु मध्येमा पर्ने आलुखेतीबाट जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा ८ सय रोपनी बढीमा हिउँदे आलु खेती गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजना अन्र्तगत खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम मार्फत हिउदे आलुुमा आत्मनिर्भर बनाउने तयारी गरेको हो ।

विगतका बर्षहरुमा गहुँ, जौ लगायतका खाद्य बाली लगाउने भएपनि यस बर्ष खायन आलु प्रवद्र्धन कार्यक्रमले कृषकहरुलाई अनुदान दिएपछि आलु खेतीलाई व्यावसायिक रुपमा लगाएको ठुलोखोकी अगुवा कृषक मैना खड्काले बताउनुभयो । हिउँदमा आलुको आयात घटाउने र आत्मनिर्भर गराउने लक्ष्य अनुसार खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका प्रमख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार, यस बर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र १ वटा सहकारी खायन आलुको अनुदानका लागि छनौट भएका थिए ।

‘‘म्याग्दी बर्खे आलुमा आत्मनिर्भर बनेर यहाँ उत्पादन भएको आलु बाहिर निकासी हुने गर्छ, अहिलेसम्म हिउँदको समयमा बाहिरका जिल्ला र भारतबाट समेत जिल्लामा आलु आयात हुँदै आएको छ, खायन आलु प्रवद्र्धन कार्यक्रमबाट अब हिउँदे आलुमा समेत म्याग्दी आत्मनिर्भर उन्मुख बन्ने देखिएको छ’’–कार्यालय प्रमुुख बास्तोलाले भन्नुभयो ।

यस कार्यक्रम अन्तरगत जिल्लामा थप १ हजार रोपनीमा बर्खे आलुु खेती विस्तार हुनेछ । गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यवसायिकताका लागि चालु आर्थिक बर्षमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका कृषक समूह र सहकारीहरुलाई आलुको विउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट खायन आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत हिउँदे आलुमा बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरि गाउँपालिकाका कृषकहरुले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगंगा र अन्नपूर्ण गाउँपालिका समेत समेटिने कार्यालयले जनाएको छ ।
म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भएपनि हिउँदे आलुको विउ बाहिरबाट बढी ल्याउने गरेका छन् । विउ आलुमा समेत जिल्लालाई आत्मनिर्भर बनाउने उदेश्यले यस बर्ष २० रोपनीमा विउ आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको केन्द्र प्रमुख बास्तोलाले बताउनुभयो ।

अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष २०७९÷८० मा जिल्लामा ६ दशमलब ३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार ४१० मेट्रिक्टन उत्पादन भएको थियो ।

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको सिंगा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन । जिल्लावाट वार्षिक रु। ६ करोड भन्दा बढी मूल्यको बर्खे आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

बर्खे आलुमा उत्पादीत मध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक्टन भन्दा बढी आलु निकासी हुने गरेको हो । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । रासस

You can share this post!

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा गौचन

धवलागिरीको २१औँ गाउँसभाः चार करोड थप बजेट विनियोजन

Related posts