म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । जिल्लाबाट भलिबल, कराँते लगायतका विविध खेलमा राष्ट्रिय पहिचान बनाउन सफल खेलाडीहरु उत्पादन भएको स्मरण गर्दै उहाँले विद्यार्थीहरुले अध्ययन संगसंगै विद्यालय तहबाटै खेलकुद क्षमता र प्रतिभालाई समेत निखार ल्याउन आबश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाब पुर्जाले रजत र बेनी नगरपालिकाका इश्वर न्यौपानेले कास्य पदक जितेका छन् । त्यसैगरि छात्रातर्फ रघुगंगाका कञ्चन भण्डारीले स्वर्ण, सोनिया खड्काले रजत र धौलागिरि गाउँपालिकाका अञ्जना विकले कास्य पदक जितेका छन् ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथ्लेटिक्समा विधातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित आठसय जना खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ । आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागि गराईने छ ।