गाउँपालिका र अनसनकर्ता गुरुङ विचको छलफल निष्कर्षविहिन

म्याग्दी । रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि र चारदिनदेखि अनसनरत रमेश गुरुङविचको छलफल निष्कर्षविहिन भएको छ । विहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा रोजगार र अस्पतालको माग गर्दै चार दिनदेखि कार्यालय परिसरमा अनसनरत रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङविच भएको छलफल निष्कर्षविहिन बनेको हो ।

मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतिलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गर्दै मंसिर ४ गतेदेखि गुरुङ अनसन बस्नुभएको थियो ।

विहिवार गाउँपालिका अध्यक्ष भण्डारीले अस्पतालको सम्वन्धमा यस अघि नै केन्द्रबाट स्थान तोकेर आएको बेग सहित पिप्लेमा समेत थप अस्पताल बनाउने गरि आफुहरुले निर्णय गरेर केन्द्रमा पठाएको बताउँदै यस सम्बन्धी पहल भईरहेको बताउनुभयो ।

उहाँले निरन्तर प्रदेश र संघसंग समन्वय गरेर टुग्याउने प्रतिवद्धता जनाउनुभएको थियो । गाउँपालिकाले वेरोजगार युवाहरुलाई हातेट्याक्टर मर्मत, ड्राईभिङ, सिलाईकटाई लगायतको शिपमुलक तालिमहरु प्रदान गर्दै आएको र आगामी दिनहरुमा पनि पालिकाले रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै अनसनरत गुरुङलाई अनसन तोड्न आग्रह गर्नुभयो ।

अध्यक्ष भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, प्रवक्ता एवम् वडानम्वर ६ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जा, वडानम्वर १, ३ र ८ का अध्यक्षहरु क्रमशः विलबहादुर फगामी, खिमबहादुर शाही र गमान छन्त्यालसहितको टोलीले अनसनरत गुरुङसंग वार्ता गर्नुभएको थियो । दुबै पक्षबिच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि गुरुङले आफ्नो अनसनलाई निरन्तरता दिनुभएको छ ।

संघीय सरकारले तीन बर्ष अघि हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना रघुगंगा गाउँपालिकामा अहिलेसम्म पनि अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको हो ।

जनचासो र गाउँपालिकाको महत्वपूर्ण बिषयलाई जनप्रतिनिधिले वेवास्ता गरेको र जनतालाई धोका दिने काम भएपछि आमरण अनसन बस्नुपरेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो माग सम्बोधन नभएसम्म गाउँपालिका कार्यालय परिसरमै आफ्नो अनसनलाई नतोड्ने बताउनुभयो ।

You can share this post!

कृषि उद्यममा आत्मनिर्भर बन्दै पात्लेखेतका युवा हरि गर्वुजा

जलजलाको मल्लाजमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

Related posts