पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले तिहार पर्व २०८० को पावन अवसरमा देउसी भैली कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठान गण्डकीले शुभ दीपावलीको शुभकामना आदान प्रदान तथा देउसीभैलो कार्यक्रम शनिबार पोखराको सिटी पार्टी प्यालेस र गण्डकी प्रदेश सरकारका मूख्य मन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा सम्पन्न गरेको हो ।
उक्त देउसी भैलो कार्यक्रमबाट ४ लाख ५ हजार रुपैयाँ संकलन भएको प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो । सिटी पार्टी प्यालेसको कार्यक्रम गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान उपाध्यक्ष हिमाल गुरुङको प्रमुख आतिथ्यता र दोस्रो चरणका कार्यक्रम मुख्य मन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तिहार पर्वमा परम्परादेखिनै खेलिदै आएको देउसी भैलो संस्कृतिको संरक्षण गर्न र प्रतिष्ठानको प्रशासनिक खर्च जुटाउने समेतको उद्देश्य राखेर भैली कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
दीपावलीको शुभकामना आदान प्रदान तथा भैली कार्यक्रममा प्रतिष्ठान केन्द्रका प्रशासनिक सचिव जीवन दाहाल, केन्द्रिय सचिव तथा प्रतिष्ठान गण्डकीका संस्थापक अध्यक्ष शंकर विरही गुरुङ, केन्द्रिय सहसचिव तारानाथ आचार्य, पूर्व केन्द्रिय उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य तथा प्रतिष्ठान गण्डकीका निवर्तमान अध्यक्ष सरेन्द्र गुरुङ, पूर्व केन्द्रिय कोषाध्यक्ष चर्चित लोक दोहोरी गायीका सृजना विरही थापा, प्रतिष्ठान गण्डकीका सल्लाहकार, कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पाण्डेले संगीतले सवै नेपालीहरुमाझ भावनात्मक एकता कायम गर्न मद्दत पुग्ने भन्दै कला र संस्कृतिको संरक्षणका लागि प्रतिष्ठान गण्डकीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रम सुरुहुनुपूर्व प्रतिष्ठान गण्डकीको महिला विभागले कार्य समितिका दाजुभाईहरुलाई तिहारको शुभकामना सहित टिका,माला र ढाका टोपी लगाईदिएका थिए भने विहानको खानाको समेत व्यवस्था गरेको प्रतिष्ठान गण्डकीका वरिष्ठा उपाध्यक्ष माया गुरुङले बताउनुभयो । कार्यक्रम प्रतिष्ठान गण्डकीका अध्यक्ष कार्कीको अध्यक्षता र सचिव रामजी पौडेललको संचालनमा सम्पन्न भएको थियो ।