म्याग्दी, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोबाट उच्च जोखिममा रहेका १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
१० घरपरिवारका ४० जनालाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा अस्थायी संरचना बनाएर राखिएको हो ।
आइतवार सशस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि अस्थायी रुपमा बसोबास गर्ने टहरा निर्माण गरेका थिए ।
साउन ३२ गते राति परेको अविरल बर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका १० घरपरिवारलाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले जानकारी दिनुभयो ।
बर्षाले गाउँको शीर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँका स्थानीय विचल्लीमा परेका हुन ।
पहिरोले सुवा गाउँमा एक घर पूर्ण रुपमा क्षति भएको छ ।
स्थानीय सतविर पाईजाको घर माथिबाट आएको पहिरोले घरमा पूर्ण रुपमा क्षति पु¥याएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिरोले ८ घर उच्च जोखिममा छन भने थप १० घरधुरी समेत पहिरोको जोखिममा रहेका छन् ।
दानाको सुवा संगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितर लगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शीर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्क विच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो ।
पहिरोको चपेटामा परेका स्थानीयबासीलाई सुरक्षित स्थानमा बसोबासका लागि आवत जावन गर्न आइतवार दानाका स्थानीयले पहिरो पन्छाएर अस्थायी बाटो बनाएका छन् ।
गाउँको माथि र तलबाटनै पहिरो गएकाले तत्काल रोकथाम गर्न सम्भव नदेखिएकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा राखेर गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाईप लगायतका अत्यावश्यक सामाग्री समेत उपलव्ध गराएको प्रमुख प्रशासकीय अधिकृति अमृत सुवेदीले बताउनुभयो ।
पहिरोको चपेटामा परेको सुवा गाउँको पहिरोको जोखिमको अवस्थाबारे आइतवार गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, गाउँपालिकाका उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, वडा अध्यक्ष पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामी लगायतको टोलीले स्थलगत अवलोकन गर्नुभएको छ ।
प्रदेश सभा सदस्य भण्डारीले पहिरोबाट घरबार विहिन भएकाहरुको स्थायी पुर्नस्थापना र तत्कालको लागि सहज बसोबासको आवश्यक प्रवन्ध मिलाउने काममा प्रदेश सरकारमा समेत आबश्यक पहल गर्ने बताउनुभयो ।