बैसरीको पहिरोले बेनी–जोमसोम सडक अवरुद्धः यात्रुहरु सडकमै अलपत्र

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित भएको छ । सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा ३ दिनदेखि सवारी साधन आवातजावत ठप्प बनेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक सडकमै अलपत्र परेका छन ।
सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो ।

बैकल्पिक रुपमा सडक स्तरोन्नतीमा ध्यान नदिदाँ ठुला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग गर्दै आएका छन् । वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषिउपज निकासी प्रभावित भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध भएको बताउनुभयो । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ ।

अवरुद्ध सडक खुलाउनको लागि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख श्री राजकुमार थापाको अध्यक्षता, र गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको बिशेष उपस्थितिमा पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, डिभिजन बन कार्यालयका निमित्त प्रमुख, पूर्वाधार विकास कार्यालयका प्रमुख, लगायत सहभागी रहेको सर्वपक्षीय समन्वय बैठक बसेको छ । अवरुद्ध सडक यथाशिघ्र खुलाउनको लागि भोलिदेखी सडक माथि पहिरो खस्ने ठाउँदेखि नै स्काभेटर प्रयोग गरेर पहिरो हटाउनको लागि आयोजनालाई निर्देशन गरिएको समन्वय प्रमुख थापाले बताउनुभयो ।

You can share this post!

बेनीमा केन्पो काई संघको तदर्थ समिति गठन

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण

Related posts