नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ । यस्तै संक्रमितमध्ये १६३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको कोरोना परीक्षण हुँदा १३८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला ५४६ र पुरुष ८३६ जना रहेका छन् । यस्तै १६२१ जना निको र २३ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ र निको हुनेको संख्या २ लाख २९ हजार ५४ जना रहेका छन् । यस्तै मृत्यु हुनेको कुल संख्या १६३७ जना रहेको छ भने क्वारेन्टिनमा ५२३ जना रहेका छन् ।
संक्रमितमध्ये महिला ८४ हजार १५५ र पुरुष १ लाख ५९ हजार २२२ जना रहेका छन् । प्रतिशतका आधारमा महिला ३४.५ र पुरुष ६६.५ प्रतिशत रहेका छन् ।
मन्त्रालयले हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण भएको पनि जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ४ हजार ८७७, ललितपुरमा ९९२ र भक्तपुरमा ४५० सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं, कास्की र ललितपुरमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन् । यस्तै हाल मनाङ र डोल्पामा एक जना पनि संक्रमित रहेका छैनन् ।