अक्षयकोष बृद्धिका लागि संचालित चिठ्ठाको नतिजा सार्वजनिक

कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । संघले म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा स्थापना गरेको मोना कतार बहुउद्देश्यीय अक्षयकोष वृद्धिका लागि सञ्चालन गरेको चिठ्ठाको नतिजा बुधवार सार्वजनिक गरेको हो ।

चिठ्ठा कार्यक्रममा प्रथम हुने रिया पौडेलले ल्यापटप पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रो पुरस्कार स्वरुप ३२ इन्चको स्मार्ट टिभि भिलास मुर्खेले जित्नुभएको छ । सान्त्वना पुरस्कार स्वरुप १० वटा स्मार्ट वाच आरती सुनार, भिथ सेभेन, योगिन मगर, अर्जुन कँडेल, हरि बजगाईँ, भोजराज श्रेष्ठ, बाग्लुङ सेवा समाज कतार, देविराम महतो, सविना चोखाल, र सुरज घर्तिले जितेको त्यहाँबाट संचारकर्मी तिलु शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइलीले कतारमा समस्यामा परेका म्याग्देलीहरुका लागि पनि केही अलग्गै कोषको सञ्चालन गर्न आवश्यक रहेको बताउँदै दुख, पिडा तथा समस्यामा रहेका म्याग्देलीहरुको हितका लागि जस्तोसुकै सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बहुउद्देश्यीय अक्षयकोषका संरक्षक सदस्य अजय विकले मोनाले जिल्लामा गरेका सामाजिक कामको प्रशंसा गर्नुभयो । मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामीले अक्षयकोषमा रकम वृद्धि गर्नका लागि चिठ्ठा कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्कीले कतार तथा जिल्लामा चन्दा अभियान सदाका लागी बन्द गर्दै कोषका माध्यमबाट आवश्यक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको बताउनुभयो । उहाँले जन्मदिनलगायतमा गरिने फजुल खर्च कटाएर कोषमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । कोषले छिट्टै म्याग्दीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने योजना बनाएको अध्यक्ष कार्कीले जानकारी गराउनुभयो ।

चिठ्ठाका विजेताहरूलाई बधाई दिँदै मोना कतारका अध्यक्ष राजु पौडेलले विपतमा परेका म्याग्देलीहरुलाई सघाउनका लागि कोषको स्थापना गरेको बताउँदै विश्वभर रहेका म्याग्देलीहरुलाई आजिवन सदस्यको रुपमा जोडिन आग्रह गर्नुभयो ।

अध्यक्ष पौडेलले संस्थालाई सबैको साझा बनाउन आफू लागिपरेको बताउँदै संस्थामै आवद्ध हुन र सामाजिक कार्यमा हात मिलाउनसमेत कतारमा रहेका म्याग्देलीहरुलाई अनुरोध गर्नुभयो । दुई महिना अगाडि खोलिएको चिठ्ठा करिव १३ सयको संख्यामा विक्री भएको थियो ।

मोना कतारका अध्यक्ष राजु पौडेलको सभापतित्व तथा संस्थापक अध्यक्ष प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत तथा चिठ्ठा कार्यक्रमको उद्देश्यका बारेमा प्रस्ट पार्नुभएको थियो भने कार्यक्रमको संचालन संघका कार्यवाहक महासचिव कृष्ण शर्माले गर्नुभएको थियो ।

 

You can share this post!

अन्नपूर्णका कृषकलाई अनुदानमा कृषि औजार वितरण

जलजलाको गाउँसभामा बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि

Related posts