म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतमा जोखिमपूर्ण सडकलाई ढलान गरेर स्तरोन्नती गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट ताराखेत–सल्यान–भर्जुला–हिदी सडक अन्तरगत ताराखेतका उकालोको जोखिमपूर्ण सडकलाई स्तरोन्नती गरिएको हो ।
बेनी–बावियाचौर सडकखण्डको ताराखेतको चोक नजीकैबाट उकालोमा २०५ मिटर सडक ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष सुसन किसानले जानकारी दिनुभयो । उहाँका अनुसार, सडकमा मेसिनरी पर्खाल र नाली समेत निर्माण गरिएको छ भने घुम्तीमा जोखिम न्यूनिकरण गर्न १०० थान ग्याविन जाली लगाईएको छ ।
सडकलाई ६ देखि ७ मिटर फराकिलोमा ढलान गरेपछि गाउँपालिकाको केन्द्र बावियाचौरदेखि सल्यान, भर्जुला, हिदी लगायतका स्थानका सर्वसाधारणलाई राहत भएको छ । यो सडक मंगलाको वडा नम्बर १ र २ का गाउँबस्तीलाई गाउँपालिकासंग जोड्ने सडकको रुपमा चिनिन्छ ।
पहिले सडक जिर्ण हुँदा दुर्घटना समेत भएको ठाउँमा ढलान गरेपछि सडकमा सहज रुपमा सवारी साधन आवत जावत गर्न सक्ने भएको उपभोक्ता समितिका अध्यक्ष किसानको भनाई छ ।