बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्षको तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरभित्र रहेका सहकारी र नीजि विद्यालयहरुको नियमन गर्न आग्रह गर्दै सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराउन सबै ठाउँमा अभियान सञ्चालन गर्न माग गरेका थिए ।

योजना टुक्रे भएकाले उपलब्धी कम हुने, योजना कार्यान्वयनमा सम्बन्धित लाभग्राही समुदायको सहभागीता नहुने, समयमै अनुगमन नहुँदा पृष्ठपोषणको अभाब हुने, फोहोर व्यवस्थापन, अव्यवस्थित पार्कीङ, मासु र तरकारीको मुल्य निर्धारण, नदीको तटिय क्षेत्रको तटबन्धनमा ढिलासुस्ती लगायतका जनसरोकारका बिषयमा नगरपालिकाका जनप्रतिनिधिको ध्यानकर्षण गराएका थिए ।

त्यसैगरि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न, अनुदान र तालिममा सहभागी भएकाहरुको अभिलेख राख्न र बेनी अस्पताल र स्वास्थ्य संस्थाहरुमा निशुल्क पाउने र बिमा बाट पाउने औषधीको उपलब्धता गराउनतर्फ नगरपालिकालाई सहभागीहरुले प्रश्न गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक भाडादर कायम गरिएको बारेमा जानकारी गराउनुभएको थियो भने प्रहरी नायब उपरिक्षक मदन कुँवरले लागुऔषध दुर्वयसनी न्यूनिकरणमा सरोकारवालाहरुको भूमिकाका बारेमा मन्तव्य राख्नुभएको थियो भने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले करको दर घटाएर दायरा फराकिलो बनाउन सकेमा नगरभित्रका सबै क्षेत्रलाई करको दायरामा ल्याउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुरत केसीले सिमित स्रोत र साधनलाई उचित उपयोग मार्फत नगरलाई विकसित र व्यवस्थित बनाउने लक्ष्यका साथ नगरपालिकाले आफ्नो कार्यक्रम तथा बजेट कार्यान्वयनमा जुटेको बताउनुभयो ।

उहाँले बेनी बजारभित्रको खानेपानी समस्या समाधानका लागि बेनी खानेपानी संस्था र ग्रामीण क्षेत्रको खानेपानी आयोजनाहरुलाई पूर्णता दिलाउन प्रदेश र संघीय सरकारसंग आवश्यक पहल र समन्वय भैरहेको बताउँदै शिक्षाको गुणस्तर सुधार र स्वास्थ्यको पहुँच विस्तारमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाबाट कार्यान्वयन हुने योजनाहरुलाई प्रभाबकारी बनाउन नियमित अनुगमन भैरहेको बताउँदै नागरिक र सेवाग्राहीलाई झण्झट र सास्ती नहोस भन्ने कुरामा नगरपालिका सचेत रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले कार्यालयको सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन आबश्यक पहल थालिएको बताउँदै सरोकारवालाबाट प्राप्त सुझाब र सल्लाह अनुसार आगामी दिनमा सेवा प्रवाहलाई थप सरलीकरण गरिने बताउनुभयो ।

नगरप्रमुख केसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार कमल खत्री, ठाकुरप्रसाद आचार्य, राकेश शर्माको सहजीकरण र नगरका प्रशासकीय अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको थियो ।

You can share this post!

बेनी नगरपालिकामा करिव ३८ प्रतिशत विकास बजेट खर्च हुन वाँकी

बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

Related posts